सरकारप्रति सत्ता पक्षकै असन्तुष्टि, मार्ग प्रशस्त गर्न प्रतिपक्षको माग

सुन्नुहोस्

सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्तराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संसदमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । 

मुलुक ग्रे लिस्टमा पर्नुले सरकारको असफलता झल्काएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बस्ने नैतिकता गुमाइसकेको दाबी गरे । 

‘सम्पत्ति शुद्धिकरण र आतकंवादी गतिविधिको निगरानी राख्ने एफएटीएफले नेपाललाई ग्रे लिस्टमा राखेको छ’, सांसद सापकोटाले भने, ‘सरकारको अकर्मण्यता, वित्तीय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाले आज नेपाल लज्जास्पद अवस्थामा पुग्यो, सरकारले नैतिक रुपमा आफैँ मार्ग प्रशस्त गर्नुपर्छ ।’

देशको इज्जत बचाउन अब संसद गम्भीर हुनुपर्ने भन्दै उनले यसबारे सभामुखको पनि ध्यानाकर्षण गराएका छन् । ‘यहाँ सरकारको त कुनै विश्वास र भरोसा नै रहेन, अब सिंगो देशको इज्जत, मान र प्रतिष्ठा संरक्षणको लागि प्रतिनिधि सभाले नै गम्भीरताको साथ लिनुपर्छ, यस विषयमा म सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु’, सापकोटाले भने ।  

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि यस घटनाले सरकारको कामकारवाही सन्तुष्टजनक नरहेको पुष्टि भएको बताए । सम्पत्ति शुद्धिकरण र वित्तीय व्यवस्थापनको लागि कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राख्दै उनले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग राखे ।

‘हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएर यसलाई कम गर्न सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिओस्’, पूर्वमन्त्रीसमेत रहेका सांसद केसीले भने, ‘आजसम्मका चर्चित भ्रष्टाचार काण्डको छानविन गर्न कुनै पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति पनि बनाऔँ ।’
 

टिप्पणीहरू