कुलमानपछि उर्जामन्त्रीको निशानामा अर्का कर्मचारी

कुलमानपछि उर्जामन्त्रीको निशानामा अर्का कर्मचारी
सुन्नुहोस्

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसलले कर्मचारीहरु चेपुवामा पर्न थालेका छन् । 

उर्जा मन्त्रालयले प्राधिकरणमा कार्यरत कुलमान निकट कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ताकेता गरेको छ । दूधकोसी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई तत्काल जिम्मेवारीबाट हटाउन भन्दै मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई पत्र लेखेको हो ।

कारवाही सिफारिस गरिएका गुरुङमाथि सामाजिक सञ्जालमा मन्त्री खड्काविरुद्ध गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाइएको छ । मन्त्रालयले दुई साताअघि नै उनीमाथि कारवाही गर्न प्राधिकरणलाई अनौपचारिक सन्देश पठाएको थियो । तर, कार्यकारी निर्देशक घिसिङले उक्त सन्देशलाई ‘नोटिस’मा नलिएपछि सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले फागुन ८ गते औपचारिक पत्र काटेको हो । 

‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका माननीय मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेको थियो’, पत्रमा भनिएको छ, ‘तर निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन सचिवस्तरको निर्णयानुसार अनुरोध छ।’

मन्त्रालयले गुरुङलाई जिम्मेवारीबाट हटाउन निर्देशनसहितको पत्र काट्नु दुई दिनअघि मात्रै कार्यकारी निर्देशक घिसिङलाई हटाउने मन्त्री खड्काकाे प्रस्ताव क्यविनेटबाट अस्वीकृत भएको बुझिएको छ । फागुन ६ गते साँझ बसेको क्याविनेट बैठकमा मन्त्री खड्काले ‘सरकारको आदेशविपरित काम गरेको’ कारण देखाउँदै घिसिङलाई हटाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, निर्णय भने भएन । 

कुलमानलाई हटाउँदा आमरुपमा गलत संदेश जाने भन्दै सरकारमा कांग्रेसको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्री खड्काको प्रस्तावप्रति असहमति जनाएको बताइएको छ ।

टिप्पणीहरू