शिवरात्रीबारे बुझ्न संस्कृति मन्त्री पशुपतिमा

शिवरात्रीबारे बुझ्न संस्कृति मन्त्री पशुपतिमा
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री पर्व भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीब्र र व्यवस्थित बनाउन निर्देशन दिएका छन् । 

महाशिवरात्री तयारीको अवस्थाबारे बुझ्न आज एकाबिहानै पशुपतिनाथ पुगेका उनले पशुपति क्षेत्र विकास कोषलाई त्यस्तो निर्देशन दिएका हुन् । विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाई भक्तजनलाई सहज रुपमा दर्शन गर्न मिल्नेगरी तयारी गर्न मन्त्रीले आग्रह गरे । 

शिवरात्री पर्वले पशुपतिनाथको महिमालाई थप उचाइमा पुर्याउने जनाउँदै मन्त्री पाण्डेले जति व्यवस्थित गर्नसक्यो त्यति नै महत्व बढ्ने बताए । भने, ‘यो निकै महत्व दिनुपर्ने महान पर्व हो । नेपाललाई चिनाउने पशुपतिनाथ र पशुपतिनाथको महिमालाई शिखरमा पुर्याउने दिन भनेको महाशिवरात्री हो ।'

महाशिवरात्री मूल समारोह समितिले अन्तर समन्वय गरेर स्वास्थ्य, खानेपानीको व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए ।

यस वर्षको शिवरात्री फागुन १४ गते परेको छ । हरेक वर्षजस्तै यसपाली पनि सो दिन पशुपतिनाथमा मेला लाग्दैछ । शिवरात्रीमा पशुपति दर्शनका लागि भक्तजनहरुको भीड हुने गर्दछ । सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्नेबारेमा बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर गएका हुन् । 

मन्दिर परसरमा अहिले रङरोगनको काम भैरहेको छ ।

टिप्पणीहरू