सामाजिक सञ्जाल विधेयकविरुद्ध काँग्रेसी पत्रकार सडकमा

सामाजिक सञ्जाल विधेयकविरुद्ध काँग्रेसी पत्रकार सडकमा
सुन्नुहोस्

सत्तारुढ दल नेपाली काँग्रेस सम्वद्ध नेपाल प्रेस युनियन सामाजिक सञ्जाल विधेयक र मिडिया काउन्सिल विधेयकविरुद्ध उभिएको छ । युनियनको काठमाडौं शाखाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

सो क्रममा प्रदर्शनकारीहरुले ‘मौलिक हकमाथि घात गर्ने विधेयक फिर्ता गर’,‘सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गर’,‘सामाजिक सञ्जाल मर्यादित हुनुपर्छ, कानुन मानव अधिकारमैत्री हुनुपर्छ’,‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन्’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

सरकारले समाजिक सञ्जाल नियमनको नाममा नागरिकको मौलिक अधिकारलाई कुण्ठित गर्न खोजेको युनियनको आरोप छ । सरोकारवालाहरुसँग छलफल गरेर मात्र सो विधेयक पेश गर्नुपर्ने माग युनियनले राखेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ पेश गरेको छ । सत्तामा रहेको कांग्रेससहित विपक्षी दल, नागरिक समाज, विभिन्न संघ संगठनले उक्त विधेयकको विरोध गरिरहेका छन् ।

टिप्पणीहरू