अनुशासनहीन काम गरेका एक सयबढी सशस्त्र प्रहरी कारबाहीमा
सशस्त्र प्रहरी बलले सामाजिक सञ्जालमा जथाभावी फोटो तथा भिडियो सेयर गरेका एक सय २० जना कर्मचारीलाई कारबाही गरेको छ । संगठनको पोशाकमा तस्बिर तथा भिडियो खिचेर विभिन्न डिजिटल प्लेटफर्महरुमा सेयर गरेको आरोपमा चार प्रहरी नायव निरीक्षक, पाँच सहायक निरीक्षक, छ वरिष्ठ हवल्दार, तीन हवल्दार, नौ सहायक हवल्दार, ९१ जवान र दुई जना परिचर कारबाहीमा परेका हुन् ।
उनीहरु सबैले तोकिएको अनुशासन र आचारसंहिता विपरितका गतिविधि गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले बताए । जसअनुसार उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षणजस्ता प्रकृतिको कारबाही गरिएको छ ।
सामाजिक सञ्जालमा कर्मचारीको गतिविधिप्रति निगरानी गर्न प्रधान कार्यालयले पछिल्लो समय छुट्टै इकाइको व्यवस्था गरेको छ । इकाइले सशस्त्र प्रहरीको सामाजिक सञ्जालको अकाउन्ट ट्याक गरेर उनीहरुले सेयर गर्ने तस्बिर तथा भिडियोको अनुगमन गर्दै आएकोे छ ।
टिप्पणीहरू