प्रधानमन्त्रीमाथि ‘निन्जा टेक्निक’ अपनाएको आरोप
राजनीतिमा नेताहरुले लोकप्रियता र मिडिया ‘अटेन्सन’का लागि अनेक तरिका अपनाउने गरेका छन् । कुनै व्यावसायिक ब्राण्डले ग्राहकको मनोविज्ञान बनाएझैँ राजनीतिमा स्रेलिब्रेटीहरूले नेताहरुको छबि निर्माणमा केही हदसम्म सहयोग गरेको देखिन्छ । तर, बौद्धिक वर्ग भने त्यस्तो प्रसिद्धिको लोभलाई फगत ‘नर्सिसिज्म’ अर्थात आत्मरतिको संज्ञा दिन रुचाउँछन् । र, यो मामिलामा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली अग्रपंक्तिमा रहेको विश्लेषण गर्न थालिएको छ ।
सरकारविरुद्ध नागरिकमा बढ्दो आक्रोश र सामाजिक सञ्जालमा व्याप्त विरोधलाई मध्यनजर गर्दै प्रतिवादको नीति अपनाएको नेकपा (एमाले)ले कार्यकर्तालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रतिरक्षामा कन्टेन सेयर गर्न आन्तरिक सर्कुलर जारी गरेको अवस्था छ । तर, औँलामा गन्न मिल्ने सीमित नेता–कार्यकर्ता बाहेक ठूलोपंक्ति प्रतिवादमा उत्रिएको देखिँदैन ।
पुस अन्तिम साता बसेको एमाले सचिवालय बैठकमा ‘१२ लाख एमाले सदस्य कहाँ छन् ? फेसबुक चलाउदैनन् क्या हो ?’ भनेर विरह पोख्नुभएका ओली अब भने आफैँ सामाजिक सञ्चालको ‘हिरो’ बन्न कस्सिनुभएको छ । उहाँले आफ्नो सचिवालयका केही कर्मचारीलाई फेसबुक, इन्स्टा, युटुव, टिकटकलगायतका डिजिटल प्लेटफर्म आइकनसँग भेटवार्ताको वातावरण मिलाउन निर्देशन दिनुभएको बुझिएको छ ।
सामाजिक सञ्जालका चर्चित व्यक्तिमार्फत् आफ्नो प्रचार गराउने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री ओलीले हिजो तीन कन्टेन क्रियटरलाई भेट्नुभयो । युवापुस्तामा चर्चित रहेका रोनिश्मा श्रेष्ठ, इभा गिरी र इस्टु कार्कीलाई हिजो बालुवाटारमा निम्त्याइएको थियो ।
समाचार स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै तर्फबाट भेटको प्रस्ताव गरिएको थियो । ‘केपी ओली कपको नाममा भेटघाटको चाँजोपाँजो मिलाइएको हो, नत्र ती केटाकेटीलाई प्रधानमन्त्रीसँग भेट्नुपर्ने कामै थिएन, उहाँ (ओली)कै इच्छामा भेटघाट जुराइएको हो’, स्रोतले सुनायो ।
तीनै जना कन्टेन क्रियटरले प्रधानमन्त्री ओलीसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । कार्कीले ओलीलाई ‘असाध्यै रमाइलो मान्छे’ भनेकी छन् भने श्रेष्ठले ‘केपी बा’ भनेर अपनत्व देखाउन खोजेकी छन् । स्मरणीय छ, माघ २४ गते पनि प्रधानमन्त्री ओलीले संसद ‘बंक’ गरेर टिकटिकर अंशु वर्मा र मिस पबीसँग बालुवाटारमा भेटघाट गर्नुभएको थियो ।
सरकारमा बसेर नीतिगत सुधारको पहल गर्नुपर्नेमा प्रधानमन्त्री ओली युट्युब, टिकटक र फेसबुकका भाइरल पात्रहरुसँग समय बिताउन थालेपछि सञ्जालमै आलोचना भइरहेको छ । अशोक कार्की भन्छन्, ‘यति फुर्सदिला प्रधानमन्त्री दुनियाँमा कहीँ छैनन् ।’
पिआर लिम्बूले भाइरल व्यक्तिहरुसँग भेट्ने प्रधानमन्त्रीको रणनीतिलाई ‘निन्जा टेक्निटक’ भनेका छन् । ‘टिकटकरलाई प्रधानमन्त्रीसँग फोटो खिचेर कन्टेन चाहिएको, प्रधानमन्त्रीलाई फेरि उनीहरुको कन्टेन बनेर भाइरल हुन मन लागेको । कस्तो दामी निन्जा टेक्निक, हैट !’, उनको प्रतिक्रिया छ ।
भीमराज बस्नेतले पनि प्रधानमन्त्रीको रहरप्रति आश्चार्य व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘ओली बा’लाई भ्याइ नभ्याइ छ, फोटो खिचाउन । टिकटकरहरु पनि बा’सँग समृद्ध फोटो खिचेर कस्तो सुखी देखिएका, आहा !’
टिप्पणीहरू