कवाड व्यवसायीमाथि कुटपिट र ज्यादती निरन्तर
कवाड व्यवसायीमाथि कुटपिट र ज्यादती गर्नेमाथि कडा कारबाही गर्न सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारसँग माग गरेको छ । काठमाडौं महानगरपालिकाका प्रहरीले कवाड व्यवसायीमाथि निर्घात कुटपिट गरेको भन्दै जनमतले त्यसमा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महानगरले पछिल्लो समय कवाड व्यवसायीलाई विस्थापित गराउन अदालतको आदेशविपरीत उनीहरुको भवना तथा व्यवसायिक संरचनामाथि जबरजस्ती डोजर चलाउने, व्यवसायीहरुमाथि नगर प्रहरी लगाएर निर्घात कुटपिट र आंतक मच्याउने काम गरिरहेको जनमतको आरोप छ ।
संविधानको धारा १७ (घ) ले नेपालको कुनै पनि भागमा पेशा, रोजगारी, उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको र महानगरमा कवाड व्यवसायीहरु वैधानिकता प्राप्त गरी कर बुझाएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै जनमतले भनेको छ, ‘कुनै पनि स्थानीय तहद्धारा ल्याइएको ऐन, कानून, नियमावली वा मापदण्ड देशको संविधानभन्दा माथि हुन सक्दैन र नागरिकको संवैधानिक अधिकार खोस्ने ऐन, कानून वा नियमावली स्वतः खारेज हुने कुरा स्मरण गराउन चाहन्छौं ।’
महानगरद्वारा कवाड व्यवसायीमाथि भइरहेको चरम ज्यादती र संवैधानिक अधिकार हननको विरुद्धमा नागरिकको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि कवाड व्यवसायमा अधिकांश मधेशी समुदायको व्यक्ति संलग्न रहेकोले सरकार मौन बसेको जनमतको ठहर छ ।
‘कवाड व्यवसायमा अधिकांश मधेशी समुदायको व्यक्ति संलग्न रहेको भनेर नेपाल सरकारले चुप लागेर कवाड व्यवसायीहरुलाई काठमाडौंबाट विस्थापित गर्ने षड्यन्त्रमा समेत हुने हो भने यसले एकतामा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई ध्यान दिन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू