प्रत्यक्षको भोटलाई समानुपातिक मान्ने प्रस्तावमा छलफल भैरहेको छ - गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धन गर्ने व्यक्ति काँग्रेस नरहने टिप्पणी गरेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई आज दिउँसो सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्नेमा जोड दिए ।
'०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्ने आँट अब कसैले गर्न सक्दैन,' उनले भने, 'जसले गर्छ त्यो कांग्रेस रहँदैन। हिजो यसको लागि लडेका थियौँ, सकेनौँ। नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो ।'
थापाले १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारे छलफल चलिरहेको पनि बताए । निर्वाचन आयोगले ल्याएको र अहिले छलफलमा रहेको यो प्रस्ताव कार्यन्वयन हुँदा निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने थापाको जिकिर छ ।
'अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ- १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने', उनले भने, 'त्यसो भएपछि कसैले निर्वाचनअगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।'
महामन्त्री थापाले निर्वाचनमा काँग्रेसबिरुद्ध अन्य पार्टीहरु मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले हावा हुण्डरी आउने जाने भएकाले नडराउन आग्रह गरे ।
टिप्पणीहरू