अहिलेका मन्त्रीलाई के मतलब !
राजतन्त्र हटेको दशकौं बितिसकेको छ । जनताको एकताले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ । नेपालको संविधान, २०७२ बमोजिम सरकार गठन भएको छ । तर, मन्त्रीहरु अहिले पनि देशमा कुन व्यवस्था छ ? भन्ने आधारभूत तथ्य नै बिर्सिन्छन् । जसका कारण भिआइपीहरु बारम्बार हाँसोको पात्र बन्दै आएका छन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखिएको नियमावलीमा हस्ताक्षर गरेका छन् । नेपाल स्काउट कर्मचारी नियमावली संशोधनको अनूसूची–४ (क) मा कार्यसम्पादन फाराम छ । त्यसको नियम १ मा ‘मूल्यांकन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएअनुसार नै हुनेछ’,लेखिएको छ ।
देशको गरिमामय पदमा बसेका व्यक्तिलाई आफू कुन सरकारको मन्त्री भएकोसमेत थाहा नभएको भन्दै उनको खिल्ली उडाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता हिमालय चन्दले लेखेका छन्,‘मन्त्री भएर केही नजान्नेले के देश चलाउँछ ? ८४ मा हेर्नुपर्छ ।’
त्यस्तै, कमलप्रकाश घर्तीमगर भन्छन्,‘संविधान बन्ने बेला कोमामा थिए होलान् ,अहिले ब्यूँझिए कि हालका मन्त्रीजी ?’ रामन बस्नेतले मुलुकका सरकारी कार्यालय अझै पनि पुरानै शैलीमा चलेको ज्वलन्त उदाहरण देखिएको बताएका छन् । ‘जतिसुकै गणतन्त्रवादी भए पनि पुरानै शैली ढाँचाले कार्यालय चलेको उदाहरण हो यो ।’
मन्त्रालयका सूचना अधिकारी उपसचिव लेखनाथ न्यौपानेले सो विषयमा केही जानकारी नभएको बताए । ‘त्यो कुरा आइरहेको छ तर के–कसरी त्यसो हुन गयो भन्ने मलाई जानकारी छैन’,उनले भने । तत्कालीन खानेपानीमन्त्री मणि थापाले सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ उच्चारण गरेपछि चर्को विरोध भएको थियो । उनले सार्वजनिक रुपमा माफी नै माग्नुपरेको हो ।
टिप्पणीहरू