नेपाल–चीन मित्रतामा थपिएको अर्को नयाँ पुल

नेपाल–चीन मित्रतामा थपिएको अर्को नयाँ पुल

नारायण नेपाल

स–साना केटाकेटी, उस्तै उचाइ, बाटुलो परेको गोरो अनुहारमा मन्द मुस्कानसहित उनीहरू बाल सांगीतिक प्रस्तुति दिन कार्यक्रमको मञ्चमा पुगेर सहभागीको ध्यान खिच्न सफल भए । चिनियाँ बाल गीत ‘मेरो सानो काठको घोडामा चढ्नुहोस्’ गाउँदै गर्दा टाउको हल्लाएर बसेका सहभागी जब उनी हरूको तोते बोलीमा नेपथ्य ब्याण्डको नेपाली लोक गीत ‘रेशम फिरिरि’ प्रस्तुत गर्न थाले तब सबै उठेर मोबाइलमा भिडियो कैद गर्न तम्सिए । 

एउटा भिड मोबाइल क्यामराको अतिथिदेखि दर्शकसम्म त्यही तालमा रम्न पुगे । एकाएक माहोल लोकगीतमय भयो । यो ‘शुभमय जीवन नयाँ वर्ष २०२५ को चित्रकला’ प्रदर्शनी उद्घाटन समारोहमा देखिएको दृश्य हो ।

काठमाडौंस्थित चिनियाँ राजदूतावास, चीन सांस्कृतिक केन्द्र नेपाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, शांघाई सांस्कृतिक तथा पर्यटन प्रशासनको संयुक्त आयोजनामा ‘शुभमय जीवन नयाँ वर्षको चित्रकला’ प्रदर्शनी ललितकला प्रज्ञा प्रतिष्ठानमा अवस्थित अरनिको हलमा आयोजना गरिएको थियो । 

चीन र नेपालबीचको मित्रताको इतिहास हजारौँ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो समय, संस्कृति, पर्यटन, शिक्षा र पूर्वाधार निमार्णजस्ता क्षेत्रहरूमा दुई देशबीचमा सहकार्यका विभिन्न प्रयासहरू भएका छन् । केहीसमय पहिला चिनियाँ दूतावासद्वारा नेपालमा आयोजित नयाँ वर्ष तथा वसन्त पर्वका उत्सवहरू, पोखरा चीन–नेपाल ड्रागन बोट प्रतियोगिता, कुनमिङ–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड र लुम्बिनी शान्ति सम्मेलनजस्ता प्रमुख कार्यक्रमहरूले दुई देशबीचको मित्रतालाई थप सुदृढ गर्दैै दुबै मुलुकका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै गएको छ ।

चिनियाँ लोककलाको एक प्रिय रूप चित्रकला हो । प्रदर्शनीमा राखिएका चित्रहरूले मानिसको जीवनमा उत्सवको रंग मात्र होइन प्राचीन समयका सामाजिक, आर्थिक र सांस्कृतिक विशेषतालाई पनि उजागर गरेको छ । प्रदर्शनीमा प्रदर्शित “चीउ स्यावछांग” नयाँ वर्षका चित्रकलाका ६० भन्दा बढी कृतिहरू मार्फत, हामी, १९औँ शताब्दीको अन्त्यतिरको शांघाइको विशिष्ट आर्थिक, सामाजिक, र सांस्कृतिक परिदृश्यको झलक अवलोकन क्रममा पाउन सक्छौँ ।

हजारौँ माइल टाढा सांघाई सहरदेखि हिउँका चुचुराहरू पार गरेर काठमाडौँ आइपुगेका सांघाइ इतिहास संग्रहालयका प्रमुख चउ छुनह्वा प्रदर्शनी उद्घाटनका क्रममा आफ्नो मन्तव्य दिँदै भन्नुहुन्छ, ‘चिनियाँ परम्परागत संस्कृतिको इतिहास निकै लामो छ । जसलाई एक अद्भूत आकाशगंगाको रूपमा देख्न सकिन्छ । “शुभमय जीवनः नयाँ वर्षको चित्रकला” प्रदर्शनीका चित्रहरू यस संस्कृतिको चम्किला रत्नहरू मध्ये एक हुन् । यी चित्रहरू सांघाइको पुरानो सहरको च्युस्याओ छांग मार्गमा विकसित भएका हुन्, जहाँ च्याङ्गनान्को भव्यता र दैनिक जीवनको जीवन्त आकर्षणको सुन्दर मिश्रण पाइन्छ । यी चित्रहरूले चिनियाँ जनताको राम्रो जीवनका लागि आशा र शुभकामनाहरू अभिव्यक्त गर्छन् । प्रत्येक नयाँ वर्षको चित्रले उज्यालो र गहिरो रंगहरू, संवेदनशील र जीवन्त रेखाचित्रहरू र विविध विषयवस्तुहरूको विशेषता बोकेको हुन्छ । पौराणिक कथाहरूदेखि दैनिक जीवनका झलकहरूसम्म, अपेरा कथाहरूदेखि चिनियाँ शुभ प्रतीक हरूसम्म, यी चित्रहरूले चिनियाँ जनताको बौद्धिक सृजनशीलतालाई उजागर गर्दै परम्परागत चिनियाँ संस्कृतिको गहिरो मर्मलाई झल्काउँछ ।’ 

सांघाईमा १ सय ६५ वटा संग्रहालय, १०० वटा कला ग्यालरी छन् । समृद्ध सांस्कृतिक र पर्यटन स्रोतहरूमा उनीहरूले आफूलाई एक र आत्मीय, अतिथिपरायण बासिन्दाको रूपमा प्रस्तुत गर्ने गरेका छन् । यो सांघाइ सहरमा हरेक भवनको एउटा कथा छ उनी हरूको कथन छ । पूर्वी चीन सागरको किनारमा अवस्थित साङ्घाई एक जीवन्त पूर्वीय मोती हो र विश्वको लागि चीनलाई अवलोकन गर्ने महत्वपूर्ण स्थल पनि ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणी हार्तमछली प्रदर्शनी उद्घाटनका क्रममा मन्तव्य राख्दै सांघाई चित्रकला प्रदर्शनी नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दुई देशबीच चुमोलुङमा (सगरमाथा)को भौगोलिक सीमा साइनो मात्र होइन विरासतदेखिका सांस्कृतिक ‘इष्टमित्र–दाइनो १’मा ललितकलाको साइनो सम्बन्ध पनि नियमित चल्दै चलाउँदै आइएको छ । यसैक्रमको एउटा थप खुड्किलो सांघाइको प्रस्तुत चित्रकला प्रदर्शनी पनि भएको छ । जसले आपसी अन्तर्राष्ट्रिय छिमेकी भाइचारा, एकआपसमा पर्यटन प्रवर्धन तथा सांस्कृतिक कलाको सम्वर्धनमा त्रिआयामिक सन्तुलन र समन्वयले पूर्वोत्तर एसियाको सांस्कृतिक सम्पदामा आपसी साझेदारी, जिम्मेवारी दुुई राष्ट्र ‘देशबीचको हितेरी–मितेरी’ अझ बढाउनका साथै विशेष संवेदनशील कलाकारी–कूटनीतिक सौहार्दता र वैदेशिक सद्भाव कायम राख्न सकिने राम्रो सुअवसर पनि भएको छ ।’ 

कूलपति हार्तमछलीले भनेझैँ यो चित्रकला प्रदर्शनीले चीन र नेपालको मित्रता हिमालय पर्वतजस्तै दृढ र विशाल बनाउने र अझ गहिरो तथा समृद्ध हुँदै अझ चम्किलो र आकर्षक प्रकाश छर्दै जानेछ भन्ने विश्वास छ । के त्यो अभिलाषा पुरा होला त ? सन् २०२५ चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाईंदै छ । यस ऐतिहासिक अवसरमा, दुवै देशले विभिन्न उत्सव कार्यक्रमहरूको आयोजना गर्दैछन् । त्यस्ता उत्सवले चीन र नेपालबीचको मित्रतालाई थप सुदृढ गर्ने अवसर सिर्जना गर्न जरुरी छ ।

“शुभमय जीवनः नयाँ वर्षको चित्रकला” प्रदर्शनीले दुई मुलकबीचको सांस्कृतिक आदानप्रदानलाई अझ गहिरो बनाउन मद्दत गरेको छ । दुवै देशका जनताको संस्कृति र चित्रकलाका मार्फत आपसी समझदारी र विश्वासलाई थप प्रगाढ बनाउने प्रयास गरेको छ । यो प्रदर्शनीले नेपाल चीन सांस्कृतिक संवादको स्रोतको रूपमा चिनियाँ चित्रकलाको महत्वलाई झल्काएको छ । नेपाली दर्शक र अवलोकनकर्तालाई यी चित्रहरूले चिनियाँ संस्कृतिको अनुभव गर्न मद्दत गरेको छ । असल छिमेकीको रुपमा नेपाल र चिनियाँ जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउन प्रर्दशनीले मद्दत पुगेको छ ।

टिप्पणीहरू