पुरानाको निन्दा गर्दै नयाँप्रति बाबुरामको कटाक्ष

पुरानाको निन्दा गर्दै नयाँप्रति बाबुरामको कटाक्ष

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘तीन टाउके’ हरुबाट देशले हैरानी खेपिरहेको टिप्पणी गर्नुभएको छ । 

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्य नेतालाई लक्षित गर्दै उहाँले यस्तो भन्नुभएको हो । ३० वर्षदेखि सत्तामा बसिरहेका ‘तीन टाउका’ लाई विस्थापित नगरेसम्म देश नबन्ने दावीसमेत डाक्टरले गर्नुभएको छ । 

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार जनताको मतको दुरुपयोग गरेको बाबुरामको जिकिर छ । 

‘कांग्रेसले गरेनन्, कम्युनिस्टले गरेनन् । यी नै तीन वटा टाउकेहरूले ३० वर्षसम्म खाइराखेका छन्’, उहाँले भन्नुभयाे, ‘जनताले पनि सत्तामा बस्नेले केही गरेनन्, बाहिर बस्नेले गर्छन् कि भनेर सोच्छन् र फेरि तिनकै पछि लागेका छन् । त्यसले फेरि ठग्छ, पटक–पटक यी तीन वटा टाउकाहरूले ठगेका छन् ।’

वैकल्पिक शक्ति भनिएका नयाँ पार्टीका नेताहरुले पनि सत्ताकेन्द्रीत राजनीति गरिरहेको डाक्टरको ठहर छ । ‘नयाँ वैकल्पिक शक्तिहरू पनि डेन्टिङ-पेन्टिङ गरेर राज्यको विभिन्न पदमा पुग्न लालायीत देखिन्छन्, प्रचण्डजस्तै चलाख व्यक्ति भए त प्रधानमन्त्री पनि भइन्छ’, कटाक्ष गर्दै भन्नुभयो । 

पूर्व प्रधानमन्त्रीसमेत रहुनभएका उहाँले भ्रष्टाचारीलाई ‘अटेन्सन’ दिएकोमा मिडियाप्रति गुनासो पनि पोख्नुभयाे । बारम्बर सत्तामा बसेर अनेकौँ भ्रष्टाचारको काण्डमा मुछिएकालाई मिडियाले हाइलाइट गर्ने गरेको बाबुरामको दुखेसो छ । ‘मिडियाका साथीहरुलाई मेरो आग्रह के छ भने जो चाहीँ सत्तादेखि सत्तामा गएर अनेकौँ काम गरेर फट्याइँ गरेको छ उसका कुरा नपत्याउनुस्’, उहाँले भन्नुभयाे । 

२०६२-०६३ पछि सत्ता राजनीतिमा आएको माओवादीलाई ३० वर्ष लुटेको भन्दै आक्रोश पोखेका डाक्टर राजावादीप्रति पनि उत्तिकै असन्तुष्ट रहनुभयो । राजावादी शक्तिले संविधान फाल्न लागिरहेको दावी गर्दै भन्नुभयो, ‘हामीले त आधा गिलास भरी, आधा खाली भनेका थियौं । आधा गिलासलाई समातेर भर्ने भनेको पो हो त ! तानातानमा आधा गिलास नै घोप्टियो भने के गर्ने भन्ने अर्थमा घोप्टिन नदिन पनि प्रचण्ड–ओलीसित पनि ठीकै छ त भनेकै हो । आधा गिलास बचाउनको निम्ति र शान्ति प्रक्रियाको बाँकी कामको निम्ति मिलौं भनेको हो ।’

तीन दिनसम्म चल्ने महाधिवेशनले ११ पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि देशबाहिर रहेका सदस्यहरुले पनि अनलाइन भोटिङ गर्न पाउने प्रवन्ध मिलाएको जनाइएको छ ।

टिप्पणीहरू