पूर्व उपराष्ट्रपति पेरिसडाँडा गएकोमा संसदमा प्रश्न
राष्ट्रपति र उपराष्ट्रपति भैसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्किनु कति उचित भन्नेबारे सार्वजनिक बहस भैरहेका बेला यो विषय संसदमा समेत उठेको छ ।
आजको राष्ट्रिय सभा बैठकमा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले राज्यको सबैभन्दा उपल्लो तहमा पुगिसकेका पूर्वराष्ट्रपति र उपराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्किन नहुने धारणा राखेका छन् । देशकै माथिल्लो ओहोदामा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नैतिकताले पनि नदिने उनको भनाई छ ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको बैठकमा उपस्थित भएकोप्रति लक्षित गर्दै सांसद बस्नेतले भने, 'उच्च पदमा बसेको व्यक्तिहरु आज पार्टीको बैठकमा जाने, पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने । मलाई उदेक लाग्छ, के हो यो अध्यक्ष महोदय ?'
पछिल्लो केही महिनायता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेको छ । पार्टी सदस्यता नवीकरण गराएकी भण्डारी एमालेका जनवर्गीय संगठनहरुले आयोजना गरेका कार्यक्रममा सहभागीसमेत भैरहेको अवस्था छ । माओवादी केन्द्रको पदाधिकारी, स्थायी समिति हुँदै केन्द्रीय कमिटी बैठकमा गैरहेका पुनलाई उपाध्यक्ष बनाउने तयारी छ भनिंदैछ ।
तर, पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सम्भावित राजनीतिक पुनरागमनलाई लिएर सम्बन्धित पार्टीभित्रै पनि एकमत देखिंदैन । नेपाली कांग्रेसका नेताहरुले सार्वजनिकरुपमै असन्तुष्टि जनाइरहेका छन् ।
‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो । आमा बुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस्, भन्ने हो', कांग्रेस सांसद बस्नेतले भने, 'राजनीति खुलारुपले गरेको हुन्थ्यो, पद कुनैपनि नलिएको भए हुन्थ्यो की । एउटा नैतिकता हुनुपर्छ नि । नैतिक चरित्र नै गुमाएका छौँ ।’
टिप्पणीहरू