म्याडमलाई पिएचडी गराउने ठाउँको सर्टिफिकेट नै नक्कली

राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले केही वर्षअघि गरेको पिएचडीबारे अनेक चर्चा हुन थालेको छ ।
उनले भारतको जयपुरस्थित मेवाड विश्वविद्यालयबाट सन् २०१९ मा ‘अ स्टडी अन बैंक लेन्डिङ बिहेभियर एण्ड मनिटरी ट्रान्समिसन मेकानिज्म इन नेप्लिज कमर्सियल बैंक्स’ विषयमा पिचडी गरेकी थिइन् । उक्त विश्वविद्यालयका प्रमाणपत्र नक्कली भेटिएपछि ‘सक्कली’ प्रमाणपत्रमाथि पनि शंका र आरोपको झ्याउलो आइपरेको अवस्था छ ।
आगामी चैतमा रिक्त हुने गभर्नर पदको दौडमा रहेकी ‘वरिष्ठ डेपुटी’ले अध्ययन गरेको विश्वविद्यालयबाट जारी पोष्ट ग्राजुएटेडका प्रमाणपत्र नक्कली पाइएपछि बैंक तथा वित्तीय संस्था र विश्वविद्यालयमा समेत चर्चा चल्न थालेको हो । यसबीच त्रिभुवन विश्वविद्यालयले त्यहाँको समकक्षता प्रमाणपत्रमा रोक लगाएको छ ।
टाइम्स अफ इण्डियाका अनुसार सन् २०२२ को अक्टोबर ५ मा लिइएको हिन्दी लेक्चरर्स परीक्षाको आधारमा दुई जनालाई नक्कली प्रमाणपत्र दिइएको जयपुर प्रहरीको स्पेसल अपरेसन ग्रुपले फेला पारेको थियो । भारतीइ प्रहरीका अनुसार मेवाड विश्वविद्यालयका डिन कौशलकिशोर चतुर्वेदीले ब्रम्हाकुमारी र कमला कुमारीलाई दिएको नक्कली प्रमाणपत्र प्रदान गरेको सबै प्रमाण छरपस्ट भएको छ ।
त्रिभुवन विश्वविद्यालयले दुई वर्षअघिदेखि मेवाडलगायत भारतका चार वटा विश्वविद्यालयबाट नक्कली प्रमाणपत्र प्रदान गरिएको तथ्य बाहिरिएपछि समकक्षता प्रमाणपत्रमा रोक लगाएको छ । भारतीय निजी क्षेत्रले सन् २००९ मा स्थापना गरेको मेवाड खुुल्ला विश्वविद्यालय हो ।
पछिल्लो तथ्याङ्कअनुसार विश्वका २४ हजार ४६१ विश्वविद्यालयमध्ये मेवाडको हैसियत झण्डै आठ हजारको हाराहारीमा छ । एसियाका ११ हजार ७६१ विश्वविद्यालयमध्ये उक्त विश्वविद्यालयको स्थान करिब तीन हजारमा देखिन्छ । भारतीय विश्वविद्यालयमध्ये मेवाड १६३ औं स्थानमा छ ।
टिप्पणीहरू