चर्चामा दल, पदमा पुग्न जोडबल

चर्चामा दल, पदमा पुग्न जोडबल

दलहरूको महाधिवेशन चार या पाँच वर्षमा गर्नुपर्ने व्यवस्था छ । अन्तिम नतिजा आएदेखि नै जित्ने समूहलाई कसरी टिकिरहने र अर्को महाधिवेशनमा पनि कसरी जित्ने भन्ने चिन्ता शुरु भइहाल्छ । हार्नेलाई जसरी पनि अर्के महाधिवेशनमा त नेतृत्वमा पुग्छु भन्ने हुटहुटी हुन्छ । थोरै मात्रै नेता त्यस्ता हुन्छन् जो एक पटक पार्टीको आन्तरिक चुनाव जितेपछि पुग्यो भनेर साइड लाग्छन् । 

उमेर हद लागू गर्ने निर्णयबाट पछि हट्नु र अरुलाई लाग्ने नियम आफूलाई नलाग्ने व्याख्या गर्नु पदमा रहिरहने मनोकांक्षा हो । कतिपयले स्वास्थ्य स्थितिबारे प्रश्न गर्दा आफ्नो जुँगा कालो हुँदै गएको र कपाल पनि पलाउन थालेको भनेर विरोधीहरूको मुख बुझो लगाउन प्रयास यसबीच भएकै छ ।

अहिले भने नेपालको सबैभन्दा ठूलो पार्टी कांग्रेसको कुरा गरौं । यो पार्टीमा आफूलाई मन लागेको कुरा बोल्न छुट छ । पार्टीभित्र होस् वा बाहिर निष्फ्रिकी आफ्ना धारणा राख्न पाइन्छ । एमालेमा जस्तो बोलेकै आधारमा सदस्यता नै खोसिने वा निलम्बन हुने स्थिति हुँदो हो भने कांग्रेसजनले के गर्दा हुन् ? 

प्रमुख सत्तारुढ दल कांग्रेसको इतरसमूह १४औँ महाधिवेशन सकिएको केही समयदेखि नै १५औँ महाधिवेशनको चिन्तामा छ । इतर समूहबाट सभापतिको उम्मेदवार बनेका शेखर कोइराला र महामन्त्री निर्वाचित गगन थापा छुटाछुट्टै शक्ति केन्द्रका रूपमा महाधिवेशनको रटान लगाइरहेका छन् । गत शनिबार आयोजित एक कार्यक्रममा थापाले केही नेताले ०८४ पछि महाधिवेशनको कुरा गरेको भन्दै तोकिएकै समयभित्र हुनुपर्ने दाबी गरे । कांग्रेसको विधान २०१७ दशौँ संशोधनको धारा ४३ ले सबै तह र निकायका पदाधिकारी तथा सदस्यको पदावधि ४ वर्षको हुने व्यवस्था गरेको छ । 

कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिर २४ गते शुरु भएको थियो । विधानअनुसार चल्ने हो भने अब २०८२ मंसिरभित्र गर्नुपर्छ । त्यसमा एक वर्ष थप्ने हो भने पनि २०८३ मंसिरभित्र सक्नैपर्ने व्यवस्था छ । १३ औँ महाधिवेशन सकिएको ६ वर्षपछि १४औँ भएकाले पनि इतरपक्ष बढी सशंकित देखिन्छ ।

यसमा पनि महामन्त्री गगन थापा महाधिवेशनलाई लिएर बढी चिन्तित छन् । प्रधानमन्त्री बन्ने मिसनका साथ अघि बढेका उनी यसअघि संसदीय दलको नेतामा पराजित भएपछि पार्टी नेतृत्व नै हत्याउने वा आफ्नो पक्षमा पार्ने दाउका कारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्नेमा जोड दिइरहेका छन् तर बिँडभन्दा पहिले ताप्के नै तात्नुपर्ने बाध्यता छ । यो कार्यकालपछि सभापति पदमा नलड्ने घोषणा गरिसकेका शेरबहादुर देउवा तत्कालै महाधिवेशन गरिहाल्ने र नेतृत्व अरुलाई जिम्मा लाइहाल्ने मुडमा देखिँदैनन् ।

स्वास्थ्यले साथ नदिने अवस्था हुँदा पनि उत्तराधिकारी तयार नभइसकेकाले महाधिवेशन सार्ने दाउ छ । गुटहरू अदलबदल भइरहँदा कसको विश्वास गर्ने नगर्ने भन्ने दोधारमा देखिन्छन् । पत्नी आरजु राणालाई नेतृत्वमा ल्याउने योजना छ । तर, सभापति नै स्वीकारिहाल्ने स्थिति बनेको छैन । 

यसो त महाधिवेशन र क्रियाशील सदस्यता विवाद कांग्रेसको पर्याय नै हो । ६ महिनाअघि क्रियाशील सदस्यता टुंग्याउनका लागि धेरै पहिलेदेखि नै काम गर्नुपर्नेमा अब तोकिएको एक वर्ष पनि बाँकी नहुँदा कुनै काम शुरु भएको छैन । संविधानको धारा २६९ उपधारा ४ (ख) ले राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुनुपर्छ भनेको छ ।

अन्तिम अवस्थामा पुगेको बिरामीलाई एक मीनेट भने पनि बढी बाँचौँ जस्तो लाग्छ । उसले त्यसका लागि हरसम्भव प्रयास गर्छ । त्यस्तै हो नेतृत्वको भोक र शक्तिको अभ्यास गर्न अभ्यस्त नेताको स्थिति । नेतृत्वमा केही समय अझै बसौँ भन्ने मनोवृत्ति र प्रवृत्ति नेपाली राजनीतिमा छ । 
 

टिप्पणीहरू