सिलिण्डर विस्फोटमा घाइतेको नाम सार्वजनिक

सिलिण्डर विस्फोटमा घाइतेको नाम सार्वजनिक

काठमाडौंको कमलपोखरीस्थित सान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनाको सनाखत भएको छ । 

प्रहरीका अनुसार विष्फोटमा घाइते हुनेमा सबै मःम पसलका कर्मचारी रहेको पाइएको छ । आज बिहान एक्कासी ग्यास सिलिन्डर विस्फोट हुँदा मःम पसलमा कार्यरत १४ जना कर्मचारीमध्ये ११ जना घाइते भएका थिए । 

सो मःम पसल रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका केशव श्रेष्ठले सञ्चालन गरेको प्रहरीले जनाएको छ । यद्यपि, उनी भने विस्फोटमा परेका छैनन् । 

प्रहरीका अनुसार विस्फोटमा मःम पसलमा काम गर्ने उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरकै २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ घाइते भएका छन् ।  

त्यस्तै, उदयपुरकै २४ वर्षीय सन्जोग मगर, २५ नविन मगर, २० वर्षीय यसकुमार घले, १९ वर्षीय बिरस मगर र हेटौंडाका १८ वर्षीय सुविन राई पनि घाइते भएको प्रहरीको भनाइ छ । 

सोही मःम पसलमा काम गर्ने फर्पिङ बस्ने २५ वर्षीय राजकुमार तामाङ, उदयपुरका १९ वर्षीय सुदीप थापा र १७ वर्षीय आरण मगर भने सकुशल रहेको जनाइएको छ । घाइते सबैको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू