बाटो काट्दै गरेकी मेलम्चीकी वृद्धा बौद्धमा ठहरै

राजधानीको बौद्धमा सार्वजनिक यातायातको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । आज बिहान बौद्ध टुसाल चोकमा गोकर्णेश्वर यातायातको ठक्करबाट ७७ वर्षीया महिलाको निधन भएको हो ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची घर भई हाल काभ्रेपलाञ्चोकको धुलिखेल बस्दै आएकी ताराकुमारी भट्टराई रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जयबहादुर राउतका अनुसार बाटो काट्ने क्रममा उनलाई बा ५ ख ६६४० नम्बरको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका निम्ति चु्च्चेपाटीस्थित स्तुपा हस्पिटल लगिएकोमा अत्याधिक रक्तस्रावका कारण उपचारको क्रममा निधन भएको उनको भनाइ छ । एसपी राउतले भने,"घुँडाबाट धेरै रगत बगेछ । त्यसैले,तत्काल अस्पताल पुर्याए पनि बचाउन सकिएन ।’
एसपी राउतले भने,"घुँडाबाट धेरै रगत बगेछ । त्यसैले,तत्काल अस्पताल पुर्याए पनि बचाउन सकिएन ।’
गाडी चालक निरज घिमिरेलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् । पछिल्लो समय सार्वजनिक यातायातको लापरबाही र गैरजिम्मेवारी बढ्दै गएको छ ।
उपत्यकामा सार्वजनिक यातायातको लापरबाहीपूर्ण सञ्चालनले यात्रुको सुरक्षाबारे गम्भीर प्रश्न खडा भएको छ । चावहिल,बौद्ध,जोरपाटी,सुन्दरीजल र साँखु रुटमा सञ्चालन हुने सार्वजनिक बसहरुमा लापरबाहीपूर्ण सञ्चालनका यस्ता घटनाहरु बारम्बार देखिने गरेका छन् ।
तीव्र गतिमा गाडी हाँक्ने,अनावश्यक हर्न प्रयोग गर्ने,गाडीको ढोका खुला राखेर चलाउने, जथाभावी रोक्ने र यात्रु चढाउने–ओरोल्नेजस्ता कार्यले दुर्घटना बढिरहेको छ ।
टिप्पणीहरू