काठमाडौँका मधेसीलाई समेट्न टास्क फोर्स

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौँ उपत्यकामा बसोबास गर्ने मधेसी र दलित समुदायलाई पार्टीमा आवद्ध गर्न 'टास्क फोर्स' गठन गर्ने भएको छ ।
'जनतासँग जसपा नेपाल:आधारभूत संगठन निर्माण अभियान' अन्तर्गत काठमाडौँ उपत्यकामा संगठन विस्तारका लागि छुट्टाछुट्टै दुइवटा टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो । माघ १९, २० र २१ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयबारे पार्टीपंतिलाई जानकारी गराउन जारी गरिएको परिपत्रमा सो कुरा उल्लेख गरिएको छ ।
उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा गठित टास्क फोर्समा खालिद सिद्धिकी मनिष कुमार सुमन र शैलेन्द्र प्रसाद साह सदस्य रहेका छन् । काठमाडौँ उपत्यकामा आइ बसोबास, कार्य तथा व्यवसाय गर्ने मधेसीहरुलाई पार्टीमा संगठित तथा परिचालित गर्ने उक्त टास्क फोर्सले कार्यादेश पाएको छ । टास्क फोर्सलाई थप विस्तार गर्न उपत्यका विशेस समितिसमेत गठन गर्ने जनाइएको छ ।
त्यस्तै, उपत्यकामा बसोबास गर्ने दलित समुदायलाई पार्टीमा आवद्ध गर्न केन्द्रीय कार्यकारिणी सदस्य तारा विश्वकर्माको संयोजकत्वमा अर्को टास्क फोर्स गठन गरेको छ । त्यसमा चन्देश्वर सदा र दिपक विश्वकर्मा सदस्य छन् ।
जसपाले विभागीय प्रमुख तथा उपप्रमुख पनि तोकेको छ । जसअनुसार संगठन विभागको नेतृत्व मधेस प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतले पाएका छन् । सो विभागको उपप्रमुख लाक्पा शेर्पा छन् । त्यस्तै, पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेशकुमार मण्डल र उपप्रमुख अम्बिका काफ्ले तोकिएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख र उपप्रमुखको जिम्मा क्रमश: अर्जुन थापा र रेणुका सिंहले पाएका छन् । प्रचार प्रचार तथा प्रकाशन विभागमा पूर्णबहादुर बस्नेत प्रमुख र शम्भु झा उपप्रमुख बनेका छन् । महिला विभाग प्रमुख प्रमिला यादव र उपप्रमुख सशी लिङ्देन चयन भएकी छन् ।
टिप्पणीहरू