'स्वर्ग-नर्क' सम्झिँदै प्रधानमन्त्रीलाई फटाहाको संज्ञा
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीजस्तो जालीझेली र ढाँटछल गर्ने व्यक्ति प्रधानमन्त्री बन्नु देशकै दुर्भाग्य रहेको टिप्पणी गर्नुभएको छ ।
आज म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले ओली सत्तामा रहनुन्जेल जनताले सुख नपाउने दावीसमेत गर्नुभयो । एमाले अध्यक्षसमेत रहेका ओलीले ‘कुरा एउटा र काम अर्कै गर्ने’ गरेको प्रचण्डको भनाई छ ।
‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ, यति धेरै ढाँटछल, जालझेल गर्नुभयो’, उहाँले भन्नुभयो, ‘मलाई त गर्नसम्म गर्नुभयो, तपाईंहरुले सुन्नुभएकै छ- स्वर्ग र नर्कको कुरा पनि ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले असार १७ गतेको घटना सम्झिदैँ सोध्नुभयो, ‘फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’ ‘देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला !’, उहाँको चिन्ता छ ।
अध्यक्ष प्रचण्डले भूमाफिया र दलालविरुद्ध नयाँ आन्दोलन गर्ने चेतावनी पनि दिनुभएको छ । आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा गरिब जनतालाई नराम्ररी चुसेको देखेको बताउँदै भन्नुभयो, ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ, हजारौं बेपत्ताहरूको सपना, विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो ।’
टिप्पणीहरू