'ढलेँ ढलेँ' गीत सुनाउँदै सरकार नढल्ने दावी

'ढलेँ ढलेँ' गीत सुनाउँदै सरकार नढल्ने दावी
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको ०८४ अघि नढल्ने दावी गर्नुभएको छ । विपक्षी दलका नेताहरुले 'सरकार ढल्दैछ' भनी भ्रमपूर्ण प्रचार गरेको भन्दै उहाँले ०८४ सालसम्म सरकार तल-माथि नहुने बताउनुभयो । 

अहिले बजारमा चर्चित 'ढलेँ ढलेँ' बोलको गीत सुनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा गीत बजारमा अलि प्रचारमा छ, म त ढलेँ ढलेँ । विपक्षीहरुले व्यर्थ समय खेर फालिरहेका छन्, सरकार ढल्यो ढल्यो, सरकार ढल्यो ढल्यो, आज ढल्यो, भोलि ढल्यो भनेर, यो गीत पार्टी र मनोरञ्जनको लागि सुहाउला, राजनीतिमा सुहाउँदैन । यस्ता गीत गाउन बन्द गरे हुन्छ, सरकार ०८४ मंसिरसम्म टसमस हुँदैन ।’ 

त्यस्तै साना राजनीतिक दलहरुलाई फुटाउन सरकारले अध्यादेश ल्याउन लागेका भन्ने हल्ला फगत मिथ्या रहेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘कसैको पार्टी टुक्राउने र भत्काउने जस्तो कुरा यो सरकारको मेन्युमा छैन, मुलुकका ठूला दल मिलेको सरकारको चासो यस्ता सानातिनो कुरामा हुन सक्दैन’, उहाँले थप्नुभयो । 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि नीजि क्षेत्र र उद्योगीहरुको मनोबल बढेको दावी गर्नुभएको छ । माओवादी केन्द्र नेतृत्वको सरकारले उद्योगीहरुलाई दु:ख दिएको आरोप लगाउँदै भन्नुभयो, ‘पर्दामा एउटा मञ्चन, नेपथ्यमा अर्कै तारताम्य मिलाइथ्यो । बाहिर भ्रष्टाचारविरुद्ध नाटक मञ्चण, भित्राभित्र आफै मौलाउन दिने । तर यो सरकार बनेपछि निजी क्षेत्रका विज्ञले सपना जस्तो काम भएको प्रतिक्रिया दिएका छन् ।’

टिप्पणीहरू