स्थापना दिवस सार्ने मेयरको निर्णय, उपमेयर र अरु जनप्रतिनिधिहरु विपक्षमा
संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले आफूखुशी स्थापना दिवसको मिति सारेपछि उपमेयरसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विरोध जनाएका छन् । हरेक वर्ष माघ १८ गते मनाइने स्थापना दिवस मेयर थपलियाले कार्यपालिकामा छलफल नै नगरी माघ २० गते मनाउने निर्णय गरेपछि जनप्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
पमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यसहित ११ वटा वडाका वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले हिजो मेयर थपलियाको ध्यानाकर्षण गराएका छन् । कार्यक्रम माघ १८ गते नै हुनुपर्ने उनीहरुको माग छ । ‘मिति २०८१–१०–०८ गते पत्रमा खाँदबारी नगरपालिका २९ औं स्थापना दिवस माघ १८ गते हुनपर्नेमा माघ २० गते कार्यक्रमहरु विभुषण वितरण समितिको निर्णयबिना नगर प्रमुखबाट भएको पत्राचार तत्काल सच्याई १८ गते कायम हुनपर्ने’,पत्रमा उल्लेख छ ।
त्यसैगरी, उनीहरुले ‘मनकामनाधाम मनकामना देवीको मन्दिर निर्माण समिति’ विघटन गरी नयाँ गठन गर्ने निर्णयमा पनि आपत्ति जनाएका छन् । कार्यपालिका बैठकले गरेको निर्णय भन्दै गरिएको विघटन तत्काल सच्चाउन जोडदार माग गरिएको छ । माङसीमा खानेपानीको समिति पुनःगठन गर्ने निर्णय पनि स्वीकार्य नरहेको भन्दै मेयर थपलियाको ध्यानाकर्षण गराइएको छ ।

मेयर थपलिया नेपाली काँग्रेसका हुन् भने उपमेयर बज्राचार्य नेकपा एमालेका । वडा नम्बर १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ र ८ का वडाध्यक्ष डम्बर कटुवाल पनि काँग्रेसकै हुन् । एउटै पार्टीको भएपनि उनीहरुले मेयरको निर्णयको विरोध गरिरहेका छन् । उपमेयर बज्राचार्यले माघ १८ गते नै स्थापना दिवस मनाउनुपर्ने बताइन् । माघ २० गते स्थापना दिवस मनाउने मेयरको निर्णय कुनैपनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ ।
‘स्थापना जुन दिन भएको हो, त्यही दिन स्थापना दिवस मनाउने हो । उहाँले आफूखुशी मिति सार्नुभएको छ । सबैले उहाँको निर्णयको विरोध जनाइरहनुभएको छ । स्थापना दिवस माघ २० गते मनाउने निर्णय हामीलाई स्वीकार्य छैन्’,उनले भनिन् । यता, मेयर थपलियाले तीन दिन स्थापना दिवस मनाइने जानकारी दिए ।
माघ १८, १९ र २० गते विभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउन लागिएको उनको दाबी छ । जसअनुसार माघ १८ गते दीपावली र झण्डोलोत्तन कार्यक्रम छ । १९ गते म्युजिकल चेयरलगायतका कार्यक्रम र २० गते योगमाया आयुर्वेद विश्वविद्यालयको उद्घाटन राखिएको छ । सो दिन स्थापना दिवसको प्रमुख कार्यक्रममा विभुषण वितरण गरिँदै छ ।
जनआस्थासँग उनले भने,‘माघ १६, १७ र १८ गते पनि कार्यक्रम गर्न मिल्थ्यो । तर, हाम्रो नगरपालिकामा स्थापना गरिएको योगमाया विश्वविद्यालयको उद्घाटन माघ २० गते हुँदैछ । आज बिहान जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुसँग छलफल भए पनि सहमति नभएपछि दिउँसो २ बजे पुनः बैठक डाकिएको मेयर थपलियाले जानकारी दिए । नगरपालिकाको स्थापना २०५२ माघ १८ गते भएको हो ।
टिप्पणीहरू