शेरा दरबार जग्गा प्रकरण: प्रचण्डले धन्यवाद दिन्छु भनेपछि गृहमन्त्रीको तत्कालै जवाफ
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार जग्गा हिनामिना प्रकरणको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले जग्गा फिर्ता ल्याउन सरकारलाई अपील गर्नुभएको हो । उक्त प्रकरणमा अनुसन्धान गर्दै जाँदा आवश्यक परे आफूमाथि पनि छानविन थाल्न प्रचण्डले सुझाउनु भयो ।
‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ’, उहाँले भन्नुभयो, ‘मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ ।’
शेरा दरबारको जग्गा फिर्ता ल्याएमा सरकारलाई धन्यवाद दिने प्रचण्डको भनाई छ । जवाफमा गृहमन्त्री रमेश लेखकले व्यक्तिले हडपेको उक्त दरबारसहितको जग्गा फिर्ता गर्ने सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुभयो । उहाँले विश्वास दिलाउँदै भन्नुभयो, ‘मेरा प्रिय नेता पूर्वप्रधानमन्त्री प्रचण्डजी, तपाईँ सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ ।’
यसैबीच समितिले भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव पेश गरेकोमा सर्वसम्मतिबाट पारित भएको हो ।
नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा व्यक्तिको नाममा ल्याउन खोजिएको यो प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ । जग्गा सरकारको स्वामित्वमा ल्याउन सिआईबीले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । त्यस्तै, सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत आग्रह गरिएको छ ।
टिप्पणीहरू