लिपुलेकमा चीन र भारत मिल्दा बेखबर सरकारले भन्यो- चिन्ता लिनुपर्दैन
लिपुलेकसँग सम्बन्धित विषयमा चीन र भारतले आपसमा गरेको सम्झौतालाई नेपालले अन्यथा ठान्नु पर्ने अवस्था नरहेको सरकारले प्रतिक्रिया दिएको छ ।
नेपाललाई बेवास्ता गर्दै त्रिदेशीय बिन्दु लिपुलेकबारे दुवै देशले सहमति गरेका थिए । त्यसलाई लिएर आमरुपमा विरोध भैरहँदा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सम्झौता नेपाललाई असर नगर्ने बताएका हुन् ।
‘हाम्रो सार्वभौमिकता, हाम्रो जुन नक्सा छ, त्यसलाई प्रभाव पार्ने ढंगले गरेको होइन,’ क्याविनेटका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यो उनीहरुको पहिलेदेखिकै टेक्निकल कुरा हो ।’
यसबारे क्याविनेट बैठकमा समेत छलफल भएर यो चिन्ता लिनुपर्ने खालको सम्झौता नभएको निष्कर्ष निकालेकाे गुरुङले सुनाए । भने, ‘यसबारे क्याबिनेटमा लामो छलफल भयो । निष्कर्ष के निस्केको छ भने हामीले चिन्ता लिनुपर्ने ढंगले, हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठ्ने ढंगले त्यो सम्झौता भएको होइन । त्यसकारण हामीले चिन्ता लिनुपर्दैन ।'
अघिल्लो हप्ता बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वीको उपस्थितिमा भएको बैठकमा कोभिड-१९ का कारण रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवतजावतलाई निरन्तरता सहमति भएको थियो । भारतीय भूमिबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीले लिपुलेक हुँदै जानुपर्ने हुन्छ, जुन नेपाली भूभाग हो ।
टिप्पणीहरू