दुई वर्षअघि चुनावी गीत लेखेका नेतालाई ‘वरिष्ठ’ बनाईंदै

दुई वर्षअघि चुनावी गीत लेखेका नेतालाई ‘वरिष्ठ’ बनाईंदै

एमालेबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान हाँकेका वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिने तयारी गरेका छन् । जारी स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन औपचारिक संवाद अघि बढाउने निर्णय गरेको छ । उता गौतम पनि नेकपा (एस)मा भित्रिन सकारात्मक रहेको बताइएको छ । 

२०७८ भदौमा एमाले परित्यागको घोषणा गरेका गौतम पुनः एमालेमा फर्किन चाहेको चर्चा चलेको थियो । गत महिना बसेको एमाले सचिवालय बैठकमा समेत दोश्रो तहका नेताहरुले गौतमलाई पार्टीमा फर्काउने विषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा राखेका थिए । तर अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले ‘उहाँ बूढो भइसक्नुभयो, पार्टीलाई काम लाग्दैन’ भन्दै चासो नदेखाएको खबर बाहिरिएको थियो ।

एमाले नेतृत्वले चासो नदिएपछि नेकपा (एस) सँग निकट हुन थालेका गौतमलाई पार्टीको वरिष्ठ नेता बनाउने योजना रहेको बताइन्छ । यद्यपि, यस विषयमा ठोस निर्णय भने भइसकेको छैन । 

नेकपा (एस)का नेताहरुले पनि गौतमको आगमनले पार्टीको शक्तिलाई बलियो बनाउने विश्वास लिएका छन् । गौतमले २०७९ को निर्वाचन अघिबाटै नेकपा (एस) मा भित्रिने तयारी गरेको एक नेताले खुलासा गरे । ‘मान्छेलाई याद नभएको होला, तर उहाँ २०७९ को चुनावबेला नै हाम्रो पार्टीमा भित्रिने तयारी थियो’, उनले भने, ‘त्यतिबेला हाम्रो चुनावी गीतसमेत उहाँले नै लेख्नुभएको हो, विश्वास लाग्दैन भने युटुबमा हेरे हुन्छ ।’

उक्त दावीलाई नेकपा (एस)को चुनावी गीतले पुष्टि गरेको छ । ‘एकीकृत समाजवादी हाम्रो पार्टी हो, क्रान्तिकारी विकास गर्न जन्मिएको हो’ बोलको चुनावी गीतमा गौतमकै शब्द उल्लेख छ ।

टिप्पणीहरू