विशेष अदालतको फैसलापछि अख्तियार फेरि दुःखी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए । श्रीमतीलाई करारमा जागिर खुवाउनेदेखि नक्कली बील बनाएर भुक्तानी लिनेसम्मका अनियमितता गर्ने उच्च अदालत दिपायलका तत्कालिन रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध झण्डै पाँच लाख रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
उनले पदको दुरुपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, झुट्टा सम्झौता समेत बनाई आफैं स्वीकृत गरी शोधभर्ना तथा भुक्तानी लिने, व्यवसायीसँग अफिसको हिसाबकिताब मिलाउन हुदैँ नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहिन गाडी मर्मत गरेको भनी भुक्तानी लिने र किर्ते गरी मिति सच्याई भ्रमण काजको समेत भुक्तानी लिनेजस्ता काम गरेको अख्तियारको दाबी छ ।
तर, विशेष अदालतले गत फागुन २७ गते उनले कम्प्युटर अपरेटर पदमा आफैंले काल्पनिक–नक्कली करार सम्झौता, पारिश्रमिक भुक्तानीलगायत निवेदन अपराधका लागि तयारीजन्य मात्र देखिएको र ती कार्य पूर्ण अपराधको निकटस्थ नभएको ठहर गर्दै सफाई दिएको थियो ।
कटुवालले आफ्नै श्रीमतीको नाममा रहेको खातामा रकम जम्मा गर्न खोजी तोक लगाएको अवस्थामा पुगिसकेको कार्यलाई अपराधको निकटस्त नपुगेको भनी तथ्यभन्दा बाहिर भई त्रुटिपूर्ण फैसला गरिएको भन्दै अख्तियारले सो बदर गरी भ्रष्टाचार उद्योगमा सजाय हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू