थुनामा रहेका देवकुमार नेपालीलाई जब फरार बनाइयो

थुनामा रहेका देवकुमार नेपालीलाई जब फरार बनाइयो
सुन्नुहोस्

चर्चामा आउनका लागि बिना अध्ययन र अपुष्ट सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने वा मनलाग्दी बोल्ने जमात ठूलो छ । सस्तो लोकप्रियता कमाउन र भ्युज बढाउनका लागि भए–नभएको विषय सामाजिक सञ्जालमा उठाउने गरिन्छ।

यता, विदेशमा बसेर सामाजिक सञ्जालमार्फत देशको अवस्थाबारे प्रश्न उठाउने धेरै छन् । जसमध्ये एक हुन्, टंक दाहाल । अमेरिका बस्दै आएका उनले युट्युबमा ‘टंक दाहाल’ र ‘टेक टंक’ नामक च्यानल सञ्चालन गरेका छन् । उनी मुलुकको राजनीतिक अवस्थाको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका हुन्छन् । 

तीन दिनअघि उनले आफ्नो युट्युब च्यानलमा सहकारी ठगीसम्बन्धी भिडियो पोष्ट गरेका छन् । ‘जिबी राईको नालीबेली । ठगीको महाभारतमा पारिवारिक साम्राज्य’ शीर्षकको भिडियोमा उनले ठगलाई जोगाउन राजनीतिक दलहरुले खेलेको भूमिकाबारे बोलेका छन् । 

त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकाका मेयर जिबीकै संगतको कारणले फसेको उनको जिकिर छ । ईमेज सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका संस्थापक अध्यक्ष नेपाली अहिले फरार रहेको दाहालले भिडियोमा बताएका छन् । उनी भन्छन्,‘त्यही सहकारीका देवकुमार नेपाली जो ईमेज सहकारी एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष पनि हुन् र पछि एमालेका तर्फबाट ढोरपाटन नगरका मेयर पनि भइसकेका छन् दुईपटक उनी पनि अहिले सहकारी ठगीको आरोपमा फरार छन्, जिबीकै संगतको कारणले ।’

बचतकर्ताको रकम अपचलन गरेको आरोपमा गत असोज ११ गते भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ परेका नेपाली पुर्पक्षका लागि थुनामा छन् । दुई महिनादेखि थुनामा रहेका उनी फरार भनेर भिडियो बनाएपछि दाहाल विवादमा तानिएका छन् । उनले भ्युजका लागि असत्य सामग्री हालेर भ्रम छरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको आरोप छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘देवकुमार नेपालीलाई नयाँ दिल्लाबाट पक्राउ गरेर हिरासतमा राख्या दुई महिना बढी भो । महान् व्यक्तित्व टंक दाहाल जी फरार भनि युट्युबमा लेटेस्ट भिडियो हाल्नुहुन्छ । जिबीको तथ्य भनेर । अनि तपाईं पो सच्चा भनेर भेडा भ्या भ्या ! ठग ठग हो, आफ्नो भ्युज बढाउन भ्रम छर्ने काम नगर्नुस टंक जी ।’

विपिन अर्यालले भनेका छन्,‘ए टंकु दाइ भिडियोमा प्रस्तुत गरेको ढोरपाटन नगरपालिकाको अध्यक्ष देवकुमार नेपाली पक्राउ परेको दुई महिना भइसक्यो । अलिक पत्रिका पढेर वा सूचना लिएर मात्र भिडियो बनाउने हो कि !!’
 

टिप्पणीहरू