प्रारम्भमा सामान्य खसेको मत मध्यान्हमा ३५ प्रतिशत
आज भइरहेको स्थानीय तहको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ३२ जिल्लाका विभिन्न स्थानीय तहका ४१ पदका लागि भइरहेको मतदानको पाँच घण्टामा उक्त प्रतिशत मत खसेको बताइन्छ ।
बिहान ७ बजेदेखि नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको छ । निर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ मतदाताले १६२ मतदानस्थलका २९३ मतदान केन्द्रमा मतदान गर्दैछन् ।यसपटक मतदानस्थलमा नै मतगणनाको व्यवस्था गरिएको छ ।
बिहान ९ बजे बजेसम्म सामान्य संख्यामा मत खसेको थियो भने १० बजेपछि मतदाता मतदान केन्द्र पुग्ने क्रम बढेको बताइन्छ।
जसअनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा बिहान ९ बजेसम्म पुरुष ४७३ र महिला ५०३ गरेर ९७६ मत खसेको थियो।
विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा पुरुष ३८५ र महिला महिला ३१३ मत खसेको थियो । कञ्चनपुरको भीमदत्त नपा ६ मा रहेको मतदान केन्द्रमा बिहान १० बजेसम्म महिला ४२५ र पुरुष पुरुष ५१६ मतदाताले मतदान गरेका हुन् ।
उता दार्चुलाको दुहु गाउँपालिका ५ गरमैरा (क) मा पुरुष १८ र महिला १४ जनाले मतदान गरेका थिए । बिहान १० बजेसम्म (ख) केन्द्रमा पुरुष ३१ र महिला ११ गरेर ४२ जनाले मतदान गरेका थिए ।
टिप्पणीहरू