‘पूर्णबहादुरको सारङ्गी’ले दिएको सन्देश-अब फिल्ममा अनुहार बिक्दैन !

‘पूर्णबहादुरको सारङ्गी’ले दिएको सन्देश-अब फिल्ममा अनुहार बिक्दैन !
सुन्नुहोस्

चकलेटी अनुहार देखाएर फिल्म हिट हुने भए अनमोल केसीको ‘फर्कीफर्की’ले सिनेमा हलहरूमा तहल्का पिट्थ्यो होला ! पल शाह र पूजा शर्मा अभिनित ‘रावायण’लाई 'सुपर फ्लप' को ट्याग लाग्दैनथ्यो । गल्यामर्स मात्र बिक्ने भए सायद साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘लण्डन टु पेरिस’ एक हप्ताभित्रै पर्दाबाट उत्रिंदैन्थ्यो । न त आँचल शर्माको ‘वर एण्ड वधु’ले दर्शकलालाई चरम निराश बनाउँथ्यो । 

चलचित्रको कथाबस्तु र अभिनय नै पहिलो शर्त हो भन्ने बुझेर पनि लापरवाही गर्ने निर्माता/निर्देशकलाई यतिबेला ‘पूर्णबहादुरको सारङ्गी’ले गतिलो पाठ सिकाइरहेकाे छ । प्रदर्शनको एक महिनासम्म चलचित्रले हलबाट उत्रिने छनक देखिएको छैन । जबकि याेभन्दा पछाडि प्रदर्शन भएका कतिपय चलचित्र हलबाट हटिसकेको अवस्था छ । 

कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको 'पूर्णबहादुरको सारङ्गी’ले ७० करोड कलेक्शन गर्दै बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएको छ । वितरक कम्पनीका अनुसार चलचित्रले नेपालबाट ४७ करोड कलेक्शन गरेको हो भने बाँकी विदेशबाट । 

अमेरिका र क्यानडामा मात्रै ९ करोड कमाएको यस चलचित्रले अष्ट्रेलियामा पनि नौ करोड हारहारीमा कलेक्शन गरेको छ । त्यस्तै, मध्यपूर्वी देशहरुमा पाँच करोड कमाएको निर्माण टिमले जनाएको छ । चलचित्र अझै देश तथा विदेशमा प्रदर्शनरत छ । त्यसैले कूल कमाई बढ्ने पक्का छ । 

नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म कुनै पनि चलचित्रले ३० करोडभन्दा बढी कमाएको छैन । यसअघि अधिकतम कलेक्शन रेकर्ड ‘कबड्डी ४’ को नाममा छ । यसले नेपालभित्रबाट २४ करोड र विदेशबाट ६ करोड कमाएको थियो । 

तर, अहिले ‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सांरगी’ले नयाँ रेकर्ड बनाएको हो । चलचित्रले ५१औँ दिन मनाइरहँदा सय करोड क्लबमा प्रवेश गर्नसक्ने अनुमानसमेत गरिएको छ ।

टिप्पणीहरू