फुडमान्डु

पिँठ्युमा एउटा ठुलो डल्लो डल्लो
पोको बोकेर साइकल/मोटरसाइकल कुदाइरहेको
देख्नुभएको छ सडकमा या गल्ली गल्लीमा
दायाँबायाँ लट्किरहेको असन्तुलित झोला बोकेर
तपाईंले अनुमान लगाइसक्नुभयो –
पठाओ फुड/भोज/भोकलाग्यो/फुडमान्डु/फुडमारियो
भोको सहरमा फुडब्याग बोकेर पनि
कोही आउँदो रहेछ घर घरमा
निदाउरो अनुहार र भोको पेट बोकेर
तपाईँ उसलाई ‘धन्यवाद’ सम्म पनि भन्नुहुन्न/भन्न भ्याउनुहुन्न
उसलाई तपाईँले किनिसक्नुभएको छ
एक/दुई घन्टाअघि नै
ओहो,
मानिसहरू
कुनै एक कोठाबाट आफ्ना चुल्हासम्म पनि घिस्रिन नसक्ने भइसकेछन्
के गर्छन् उनीहरु साँझ, बिहान घरमा
या दिउँसो धुमधुमती कोठामा/बरन्डामा/कौसीमा
उपभोक्तावादले चाटेछ कि तिनका जिब्रामा
या तिनले चाखे पुँजीवादको गुलियो विषालु खजाना
भान्छा छाडेर दमयन्तीहरू कता लेटिरहेका छन् सम्साँझै
या कङ्कहरू विराट् दरबारबाट भासिए मुग्लानतिर
एउटा रेस्ट्राँको श्वेतवस्त्रधारी सेफसँग हारिरहेछन् हाम्रा चुल्हाहरू
कठै, मेहनतका साथ हाम्रो वास्तुकलाले पूर्वतर्फ सोझ्याएको किचेन
आराम गरिरहेछ आज
भित्ताभरि थाल, प्लेट, कचौरा, चम्चाकाँटा टाँसेर
चिसा कसौँडी, प्रेसर कुकुर, राइस कुकर, ओभन र ग्यास चुल्हासँगै
तपार्इँ समय बचाउन निकै खप्पिस हुनुहुन्छ
दिनरातभर भर्चुअल वल्र्डमा अडिएर
ग्लोबलाइजेसनसँगको आफ्नो मित्रता
पोस्टमोडर्निज्ममा गएर टुङ्गिएको तपाईं पत्तै पाउनुहुन्न
तपाईँका आँखा, दिमाग र मन
जतिखेर पनि पुगेको छ भोकमान्डु, फुडमान्डुतिर
‘भोक लागेको छ, तर रेस्टुरेन्टसम्म जाने जाँगर छैन,
हामी तपाईँको घरघरमै, कार्यालयमै आइदिन्छौँ ब्रेकफास्ट, लन्च, डिनर बोकेर’
अझ तपाईँलाई लाग्दो हो
बेव दुनियाँमा बस्दै गर्दा
कसैले मुखैमा लगिदिओस् गाँस पनि
आहा,
समयको बचत यसरी पो होला
तपाईँलाई थाहा छँदैछ,
समय भनेको पैसा हो र
पैसा कमाउन समय पनि त बचाउनुपर्छ ।
टिप्पणीहरू