न्यायाधीश नियुक्तिमा ‘लेनदेन’ भएको आरोपमा नेपाल बार अडिग
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध मुद्दा दायर गरिएकोप्रति सर्वोच्च अदालत बारले आपत्ति जनाएको छ । सर्वोच्च अदालतमा उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै एशोसिएशनले मुद्दा तत्काल फिर्ता लिन माग गरेको छ ।
न्यायपालिकामा रहेको विकृति, विसंगतिविरुद्ध व्यक्त गरिएको अभिव्यक्तिको विषयलाई लिएर अदालतको अवहेलनाजस्तो गम्भीर मुद्दा दायर गर्नु स्वतन्त्र न्यायपालिकाको लागि शोभनीय नरहेको एशोसिएशनको ठहर छ । एशोसिएशनले आज विज्ञप्ति जारी गर्दै सर्वोच्चका कर्मचारीको उक्त कार्य सम्पूर्ण कानुन व्यवसायीमाथिको गम्भीर प्रहार भएको बताएको छ ।
‘नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले व्यक्त गर्नुभएको विचारलाई लिएर श्री सर्वोच्च अदालतका कर्मचारीको प्रतिवेदनको आधारमा दायर भएको अदालतको अवहेलनाको मुद्दाप्रति यस बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ । यो कार्य सम्पूर्ण कानुन व्यवसायीमाथिको गम्भीर प्रहार हो भन्ने यस बार एशोसिएशनको ठम्याई छ’,विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, एशोसिएशनले मुद्दा फिर्ता नभएसम्म संस्थागत रुपमा प्रतिरक्षामा उत्रिने चेतावनी दिएको छ । सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनको आधारमा नियुक्ति गरेको आरोप लगाएका थिए ।
काठमाडौं जिल्ला बारले आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए,‘तपाईं (प्रधानन्यायाधीश) ले लेनदेनको आधारमा नियुक्ति गर्नुभयो भनेर भनिसकें । तपाईंले आफूले लिएको हिसाबकिताब मिलानको लागि न्यायाधीश नियुक्ति गर्नुभयो ।’ उनले सके आफूलाई थुन्नसमेत चुनौती दिएका थिए ।
उनको उक्त अभिव्यक्तिविरुद्ध सर्वोच्चका सूचना अधिकारीसमेत रहेका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले अस्ति मुद्दा दायर गरेका हुन् । मुद्दाको पेशी कात्तिक १ गतेका लागि तोकिएको छ ।
टिप्पणीहरू