भानु जयन्तीमा कर्मचारीहरुको गजल प्रतियोगिता
नेपाल निजामती कर्मचारी संगठनले खुल्ला गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ । भानु जयन्ती एवं शहिद स्मृति दिवसको अवसरमा ‘खुल्ला गजल प्रतियोगिता तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्न लागिएको हो ।
संगठनले सूचना जारी गर्दै इच्छुक गजलकारहरुलाई आउँदो असार २२ गतेभित्र गजल पठाउन सूचित गराएको छ । संगठनका अनुसार गजल नेपाली भाषामा र समसामयिक विषयवस्तुमा आधारित हुनुपर्नेछ ।
त्यस्तै, गजलको न्यूनतम मापदण्ड र मान्यताको पालना गरेको, पाँचदेखि ६ शेरमा लेखिएको हुनुपर्ने संगठनले जानकारी दिएको छ । गजलकारले एउटा मात्र गजल पठाउन पाउने र गजल वाचन गर्न स्वयमं उपस्थित हुनुपर्ने जनाइएको छ ।
प्राप्त गजलमध्ये १५ वटा वाचनका लागि छनौट गरिनेछ । छनौटमा पर्ने गजलकारलाई फोनमार्फत जानकारी गराइनेछ । असार २८ गते दिँउसो २ बजे काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालको सभाहलमा गजल वाचन प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र दिइनेछ ।
टिप्पणीहरू