माइतीघरको पोल चढ्ने पूर्वन्यायाधीशकी श्रीमतीलाई झारियो
क्षतिपूर्ति माग्दै राजधानीको माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा झुण्ड्याएको पोलमा चढेकी पूर्वन्यायाधीश भुवन गिरीको श्रीमतीलाई प्रहरीले उद्धार गरेको छ ।
पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनका लागि राहतको व्यवस्थापन गरिदिन माग गर्दै पोल चढेकी आरती रावललाई उद्धार गरेर प्रहरीले वीर अस्पताल पुर्याएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए ।
‘उहाँ धेरै माथि जानुभएको थिएन । प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको छ । अवस्था सामान्य छ’, उनले भने । सर्वोच्च अदालतले गिरीलाई कैद सजाय गरेर न्याय दिए पनि आफ्नो बाँच्ने आधार नभएको रावलको गुनासो छ ।
आफूलाई राहत दिन माग गर्दै उनी लामो समयदेखि सडक संघर्षमा छिन् । काठमाडौं जिल्ला अदालतले गिरीलाई गत जेठ २९ गते वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सुनाएको छ । तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने आदेशमा उल्लेख छ ।
टिप्पणीहरू