निलम्बित मुख्य सचिवका लागि योजना आयोगमा विशेष पद
भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।
आज बसेको क्याविनेट बैठकले विशेष पद सिर्जना गरेर उनलाई आयोगमा लैजाने निर्णय गरेको हो । अर्याल स्वत: निलम्बनमा परेको तर पद रिक्त नभएको अवस्थालाई हेरेर मुद्दा अवधिभरका लागि सृजना गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, क्याविनेट बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी तोकेको छ । मुख्य सचिव नियुक्त नहुँदासम्म गड्तौलाले नै जिम्मेवारी सम्हाल्ने छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो मुख्य सचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गरेको थियो । उनीहरुमाथि अन्तशुल्क स्टिकर खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।
टिप्पणीहरू