सशस्त्रका डिआइजीमाथि कारबाही सिफारिस,एसपीको बढुवा रोक्का
सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम थापामाथि कारबाही सिफारिस गरिएको छ । बलम्बुस्थित केन्द्रीय भण्डारमा भएको आगलागीमा गम्भीर लापरबाही गरेको भन्दै कारबाहीको लागि गृह मन्त्रालयमा लेखी पठाइएको बताइन्छ ।
सशस्त्र प्रमुखले डिआइजीलाई नसिहतसम्मको कारबाही गर्न सक्छन् । त्योभन्दा बढीको निम्ति गृह मन्त्रालयमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्थाका कारण पत्राचार गरिएको बुझिएको छ । उक्त आगलागीमा उपरीक्षक (एसपी) राजेन्द्र श्रेष्ठले पनि पदीय जिम्मेवारी पूरा नगरेको जनाउँदै सशस्त्रले बढुवा रोक्का गरेको छ ।
उनीहरुको लापरबाही जागिरबाटै निकाल्नुपर्ने तहको भएको सशस्त्र मुख्यालय,कानुन शाखाको राय रहेको बताइन्छ । उनीहरुले केन्द्रीय भण्डार सुरक्षाको निम्ति आवश्यक सिसिटिभी र २४ घण्टा पहरेदार राख्नुपर्नेमा सो नगरेको पाइएको थियो ।
आगलागीमा सशस्त्रको कम्तीमा सात करोड रुपैयाँ बराबरको क्षति भएको बताइन्छ । सशस्त्रलाई बुझाउन ठिक्क पारिएको तर प्रक्रियामै रहेको ठेकेदारको १६ करोड बढीको सामान पनि आगोमा खरानी भएको थियो । उक्त सामानको क्षतिपूर्तिका लागि ठेकेदार कम्पनी अदालत जाने तयारीमा रहेको बुझिएको छ ।
यसैबीच सशस्त्रले हिजो १८ जना एसपी र २३७ जना डिएसपीको सरुवा गरेको छ । डिएसपीलाई गुल्मपतिको र एसपीलाई इञ्चार्जको जिम्मेवारीमा साउन १ गतेदेखि लागुहुने गरी खटाइएको छ ।
टिप्पणीहरू