प्रेस पासका लागि विभागद्धारा पत्राचार
सूचना तथा प्रसारण विभागले पत्रकारहरुलाई उपलब्ध गराउँदै आएको प्रेस पासका लागि दरबन्दी विवरण पठाउन सूचना गरेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि प्रेस पास जारी तथा नवीकरण गर्न विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको दरबन्दी पठाउन विभागले भनेको हो ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ र प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि २०७१ को दफा ३३ बमोजिम प्रत्येक वर्ष सञ्चार गृहले आफ्नो प्रतिष्ठानमा रहेका दरबन्दीको तहगत विवरण र श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको विवरण विभागमा पठाउनुपर्ने व्यवस्था छ ।
विभागले सबै सञ्चारगृहलाई पत्राचार गर्दै विभागको बेभसाइटमा गएर अनलाइन सेवामार्फत फाराम भर्नुपर्ने जनाएको छ । एक आर्थिक वर्षका लागि निर्धारण गरिएको दरबन्दी विवरण एकैपटक बुझाउनुपर्ने विभागले स्पष्ट पारेको छ । रिक्त पदको हकमा पछि श्रमजीवी नियुक्ति विवरण पेश गर्न सकिने जनाइएको छ ।
पाँच जनाभन्दा बढी दरबन्दी भएमा तलबी विवरण, तलब भुक्तानीका लागि सम्बन्धित बैंकलाई लेखिएको र बैंकद्धारा प्रमाणित पत्र, सञ्चार प्रतिष्ठानको दर्ता प्रमाणपत्र र सो प्रमाणपत्र नवीकरण गर्नुपर्ने भएमा नवीकरण भएको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ ।
तोकिएको ढाँचाभन्दा भिन्न रुपमा पठाइएको विवरणहरु दर्ता नगरिने विभागले जानकारी दिएको छ । पठाएको विवरणमा संशोधन नहुने र गलत विवरण पठाएमा सञ्चार प्रतिष्ठान जिम्मेवार हुने भनिएको छ ।
विभागले साउन १ गतेदेखि नयाँ प्रेस पास जारी तथा नविकरणका लागि आवेदन खुलाउने गरेको छ ।
टिप्पणीहरू