घण्टीका महामन्त्रीको जनआस्थासङ्ग हार

घण्टीका महामन्त्रीको जनआस्थासङ्ग हार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा महामन्त्री डा.मुकुल ढकालले जनआस्थाविरुद्ध हालेको मुध्दामा हार खानु परेको छ । जनआस्थामा प्रकाशित समाचारमाथि चुनौती दिँदै उनले हालेको गाली बेइज्जतीको मुद्दामा मंगलबार जेठ २२ गते सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँले दाबी नपुग्ने फैसला सुनाएको हो ।

रास्वपा साँसद डा. ढाकाकुमार श्रेष्ठसँग सम्बन्धित जनआस्था अनलाइनमा प्रकाशित समाचारले आफ्नो मानहानी भएको जिकिर गर्दै मुकुलले २०८० जेठ १४ गते मुद्दा दायर गराएका थिए । ०७९–सी ४ –३८९४ दर्ता नम्बर रहेको मुद्दामा २ करोड ८७ लाख क्षतिपूर्ति र ३ वर्ष कैद सजायको मागदाबी गरिएको थियो ।तर,इजलासमा पेश भएका प्रमाण,साक्षीको बयान र दुवै पक्षको बहसपछि न्यायाधीश पदमराज पाण्डेको २७ नम्बर इजलासले दाबी नलाग्ने ठहर्याएको छ ।

 

त्यसअघि दुबैतर्फका कानुन व्यवसायी बहसमा उत्रिएका थिए । मुकुलको तर्फबाट अधिवक्ताद्वय यज्ञमणि न्यौपाने र दिपक अधिकारीले निवेदकको दाबी बमोजिम आस्था प्रकाशन प्रालिलाई क्षतिपूर्ति र सजायँ गराउन माग गर्दा बद्रि भुसाल र दीक्षा रसाईलीले  प्रतिरक्षा बहस गरे । 

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग रास्वपाका तत्कालीन सांसद ढाकाकुमारले ’कोर टिम’लाई बुझाउन दुई करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । सोही अडियोमा टेकेर ढाकाको समेत प्रतिक्रिया लिई जेठ १० गते जनआस्था अनलाइनमा समाचार प्रकाशित भएको थियो । उनको भनाई उद्धृत गर्दै लेखिएको समाचारमा समानुपातिक सांसद बनाउँदा रास्वपाका सभापति रवि लामिछाने निकट हालका श्रममन्त्री डिपी अर्याल र मुकुललाई पार्टी कार्यालय र रेष्टुरेन्टमा पैसा बुझाएको उल्लेख छ ।  

ढाकालाई ७२ घण्टे अल्टिमेटम दिएर स्पस्टिकरण सोधेको रास्वपाले लगत्तै पदबाट हटाएबाटै समाचारमा सत्यता नरहेको मुकुलको दाबी यसै खण्डित हुन्छ । अर्कोतिर,गृहमन्त्री लामिछानेकी कान्छी पत्नी निकिता पौडेलले आफू उपाध्यक्ष रहेको सत्य साई सहकारीबाट बिना धितो लिएको ५० लाख ऋणको साँवा–ब्याजसहित ढाकामार्फत् ७५ लाख फिर्ता गरेको तथ्य पनि सार्वजनिक भैसकेको छ । सहकारीका तत्कालीन अध्यक्ष भरत जंगमले चैत २९ गते सो कुरा खुलाएका थिए । 

त्यसैका आधारमा जनआस्था अनलाइनमा ‘रवि र निकिताले बिहे खर्च लगेको,ढाकाले त्यो ऋण तिरेर सांसद बनेको’ शीर्षकमा सम्प्रेषित समाचार आर्काइभमा सुरक्षित नै छ । ढाका स्वयंले पैसा बुझाएको स्वीकार गरेको अवस्था,भरत जंगमको उक्त प्रतिक्रिया अनि अन्य तथ्य र प्रमाणले समेत ढाका र रविको कोर टीमबीच आर्थिक लेनदेन भएको तथ्य घाम जत्तिकै छर्लंग हुँदाहुँदै समाचार मेटाउन तम्सिएका मुकुलको मुखमा अदालतको फैसलाले चुकुल लगाइदिएको छ ।

त्यसो त,अदालतमा मुद्दा हालेर सञ्चार माध्यमलाई तर्साउने अनि आफ्ना कर्तुत ढाकछोप गर्ने प्रवृत्ति पछिल्लो समय झन मौलाइरहेको छ । नागरिकता किर्ते प्रकरणमा अदालतको आदेशपछि गृहमन्त्रीबाट बाहिरिएसँगै रवि लामिछानेले ’१२ भाइ’ को संज्ञा दिँदै सञ्चार माध्यममाथि अनेक आक्षेप लगाएपछि यस्तो प्रवृत्तिले झन् बढावा पाइरहेको देखिन्छ । जनआस्थाविरुद्ध मुकुलले हालेको यो मुद्दालाई पनि त्यसैको निरन्तरताको रुपमा हेर्न सकिन्छ । 

यसअघि बिनोद चौधरी र उनकी बुहारीले पनि जनआस्थामा प्रकाशित समाचार मेटाउन अदालत गुहारेका थिए । तर, पाटन उच्च अदालत र ललितपुर जिल्ला अदालतमा उनीहरुले विभिन्न मितिमा दायर गरेको फरक–फरक मुद्दामा यसैगरी दाबी नपुग्ने फैसला भएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू