सरकारी जोडबलपछि पनि सन्दीपको भिसा रिजेक्ट

सरकारी जोडबलपछि पनि सन्दीपको भिसा रिजेक्ट

क्रिकेटर सन्दीप लामिछानेको भिसा रिजेक्ट भएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले भिसा नदिएको जानकारी गराएका हुन् । अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख छ । 

‘संयुक्त राज्य अमेरिका र वेष्ट इण्डिजमा सञ्चालन हुन लागेको आइसीसी पुरुष टि–२० क्रिकेट प्रतियोगितामा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ साथै आइसीसीबाट आवश्यक पहल भएको भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

  

लामिछानेले भिसाका लागि दुई पटक आवेदन गरेपनि दूतावासले दुबै पटक भिसा दिन असमर्थता जनाएको हो । पछिल्लो पटक आज भिसा रिजेक्ट भएको हो ।

अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुने टी–२० विश्वकप पर्सिबाट शुरु हुँदैछ । तर, भिसा नलागेपछि सन्दीप भने अमेरिका जान पाएका छैनन् । जसका कारण नेपालले खेल्ने अभ्यास खेल छुटिसकेको छ । 

सन्दीपलाई भिसा नदिएको विरोधमा एउटा समूहले काठमाडौँमा प्रदर्शन गरिरहेको छ । राप्रपा नेता तथा सांसद ज्ञानबहादुर शाहीले नेतृत्व गरेको सो समूहले हिजो प्रधानमन्त्री निवास बालुवाटार अगाडि अमेरिका र सरकारविरुद्ध चर्को नाराबाजीसहित धर्ना दिएको थियो ।

जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेसँगै क्रिकेटबाट बाहिरिएका सन्दीपलाई गत जेठ २ गते उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले राष्ट्रिय टोलीमा समावेश गरेको हो ।

टिप्पणीहरू