ट्राफिक कारवाहीमा परेकालाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय विवादमा

ट्राफिक कारवाहीमा परेकालाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय विवादमा
सुन्नुहोस्

ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयमसेवकका रुपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय विवादमा परेको छ । 

गणतन्त्र दिवसको उपहार भन्दै गृहमन्त्रीले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन छुट्टी दिने र मापसेलगायत ट्राफिक कारवाहीमा परेकाहरुले स्वयंसेवी भएर सडकमा खट्नुपर्ने घोषणा गरेका थिए । तर, कार्यान्वयनको प्रारम्भिक दिनमै निर्णय विवादित भएको हो । 
  
सडक अनुशासन पालना गराउने जस्तो अत्यन्त संवेदनशील सवाललाई गृहमन्त्री लामिछानेले हल्का रुपमा लिएको एकथरीले टिप्पणी  गरिरहँदा कतिपयले चैं लोकरिझ्याईका लागि हचुवामा गरिएको निर्णय भनेका छन् । समर्थकहरु भने लामिछानेको यो निर्णयको बचाउमा सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । 

ट्राफिक नियम मिचेर कारवाहीमा परेकाहरुलाई नै सडकमा खटाउँदा दुर्घटना बढ्नसक्ने चिन्ता पनि भैरहेको छ । यसैबीच नेपाली कांग्रेसका नेता तथा संघीय सांसद रामहरी खतिवडाले उक्त निर्णय सच्याउनुपर्ने बताएका छन् । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका उनले गृहमन्त्री लामिछानेमाथि कटाक्ष गर्दै कसैले फेसबुकबाट नयाँ ट्राफिक नियम बनाउन नसक्ने बताए । आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्री 'जे पायो त्यही निर्णय गर्दै हिँडेको' आरोप लगाए । 

'कानुनी राज्यको परिकल्पना गरेका छौं । तर, कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन,' खतिवडाले भने, 'अहिले सडकमा केही मान्छेहरूलाई उपप्रधान तथा मन्त्रीको निर्देशनमा सडकमा उभ्याउने गरिएको छ, यो सरासर गलत छ ।'

अध्ययन र कानुनविना नै नागरिकलाई सडकमा खटाउन नमिल्ने उनको धारणा छ । 

ट्राफिक प्रहरीले भने गृहमन्त्रीको घोषणाअनुसार कार्यान्वयन शुरु गरिसकेको छ । हिजो काठमाडौँ उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिक कारवाहीमा परेकाहरुलाई स्वयंसेवकका रुपमा खटाइएको थियो ।
 

टिप्पणीहरू