हतियार आयो, सँगसँगै सेनाले दुःख पायो

हतियार आयो, सँगसँगै सेनाले दुःख पायो

अर्बाैं मूल्य बराबरको हतियार त आयो तर भन्सारमा बुझाउनुपर्ने केही करोड रकम आफूसँग नहुँदा नेपाली सेनाले सास्ती खेप्नुपरेको छ । भन्सारलाई शुल्क बुझाउन नसक्दा महिनौँअघि कोरियाबाट ल्याइएको ‘के– टु’ सिरिजको राइफल थन्किएको र असुरक्षाको डरले गतहप्ता ट्रकमा लोड गरेर जंगी अड्डा पुर्‍याइएको छ । सोबापतको दस्तुर भने तिर्न बाँकी नै छ । सैनिक स्रोतका अनुसार  ६ वटा ठूल्ठूला बाकसमा ७ सय ४४ थान हतियार गतहप्ता विमानस्थल भन्सारबाट उठाएर जंगी अड्डाको दक्षिणतिर अवस्थित तुमु कोतखानामा भण्डार गरिएको छ ।

महिनाैँ देखि अड्किएको राइफलको भन्सार शुल्क मात्र कम्तीमा २० करोड बुझाउनुपर्ने हिसाब निस्किएको छ । सरकारअन्तर्गतका निकायले आयात गरेका कतिपय वस्तुमा भन्सार महसुल छुट गरिएको हुन्छ तर पछिल्लो पटक आर्थिक ऐनमा ती वस्तु जाँचपास गर्दा भ्याट रकम बुझाउनुपर्ने अनिवार्य व्यवस्था राखिएपछि हतियार त आयो तर तत्कालै भ्याट तिर्ने पैसा नहुँदा एयरपोर्टकै गोदाममा सिलबन्दी गरेर छाडिएको थियो । पछि सुनकाण्डमा जस्तै साँटफेर हुने डरका कारण भन्सार नतिरी जंगी अड्डातिर ओसारिएको छ । 

एयरपोर्ट भन्सारबाट आफ्ना राइफल उठाएर लैजानका लागि पैसा खोज्दै सैनिक टोली कहिले लाइन मिनिष्ट्री रक्षामा पुग्यो त कहिले अर्थतिर दौडियो । महिनौँ दिनको कुदाकुदपछि बल्ल अर्थबाट रकमको सुनिश्चितता भएसँगै अरु हतियार एक/दुई दिनमै लैजाने तयारी छ । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाकै समयमा भएको सम्झौताअनुसार उक्त हतियार ल्याइएको बताइन्छ । नियमअनुसार आयातकर्ताले आयातित सामग्री ६० दिनसम्म मात्र गोदाममा राख्न सक्छ । दुई महिनाभित्र जाँचपास नगरे भन्सार कार्यालयले सिज गर्न सक्ने प्रावधान छ ।

सशस्त्र द्वन्द्वकालमा सेनाले भारतबाट इन्सास राइफल ल्यायो, इजरायलबाट गलिल, पछि अमेरिकन एम १६ राइफल पनि आयात गर्‍यो । धेरै वर्षदेखि थन्क्याइएका ती हतियार काम लाग्न छाडे । कुनैका निशाना बिग्रिए, कुनैले फायरिङ नदिने त धेरैका ट्रिगर नै खिया परेर खत्तम  ! त्यस्ता हतियार सशस्त्र र प्रहरीलाई दिएर सेनाले भने आफ्नो हतियार भण्डार (कोत) मा कोरियन कम्पनीद्वारा उत्पादित केटुसी १ र २ सिरिजका हतियार ल्याएको छ । पूर्णचन्द्र थापा प्रधानसेनापति रहँदा खरिद सम्झौता गरिएको उक्त हतियार पनि काम लाग्दो नभएको भनिँदैछ ।

तर, सम्झौता गरिसकेपछि नल्याउन मिल्दैन, त्यसैले आउने क्रम जारी छ । पूर्णचन्द्रकै कार्यकालमा ६० हजार थान त्यस्ता हतियार आयात गर्ने सम्झौता भएबमोजिम भर्खरै ६ वटा बाकसमा ७ सय ४४ थान हतियार भन्सारबाट ट्रकमा लोड गरेर जंगी अड्डा पुर्‍याइएको छ । १४ वटा ट्रक पठाएर वैशाखको ९–१० गतेतिर जंगी अड्डाको दक्षिणतर्फ रहेको तुमु कोतखानामा हतियार राखिएको हो । पल्टनको बाँकी भएको र काम नलाग्ने हतियार पनि त्यहीँ राख्ने गरिन्छ । तर, गोलीगठ्ठा भए भक्तपुर लगिन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू