`करणी ´ मा सन्दिपलाई सफाइ,प्रश्न अनेक छन्

`करणी ´ मा सन्दिपलाई सफाइ,प्रश्न अनेक छन्
सुन्नुहोस्

जबर्जस्ती करणी मुद्दामा क्रिकेटर सन्दिप लामिछानेले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौँको फैसला उल्टाउँदै हिजो उच्च अदालत,पाटनले उनलाई सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जाहेरकर्ताको दाबी पुग्ने आधार र प्रमाण नदेखिएकाले अभियोग पुष्टि नहुने निष्कर्ष निकालेको छ । अदालत स्रोतका अनुसार तीन वटा आधारमा टेकेर इजलासले सन्दिपलाई निर्दोष ठहर गरेको हो । हाल संक्षिप्त राय मात्र दिएको अदालतले फैसलाको पूर्ण पाठमा यसको थप व्याख्या गर्नेछ । 

अदालतले सन्दिपको पक्षमा फैसला गर्दा गौशाला-२६ भनिने जाहेरकर्ता नाबालिग प्रमाणित नभएको कुरालाई पहिलो आधार मानेको छ । त्यस्तै,परिस्थितिजन्य प्रमाणलाई पनि अदालतले केलाएको छ । न्यायाधीशद्वयले दुई दिनको बहसपछि सन्दिप र गौशाला-२६ ले रात कटाएको भनिएको होटलको सिसिटिभी फुटेज हेर्नुले पनि परिस्थितिजन्य सबुतमा टेकेर फैसला गरेको बुझ्न सकिन्छ ।

भोलिपल्ट क्रिकेट खेल्न विदेश जाने तयारीमा रहेको एउटा खेलाडी अघिल्लो रात युवती लिएर नगरकोट घुम्न जाने र होटलमा रात बिताउने कुरा अनुशासन उल्लङ्घन हो कि होइन ?

गौशाला-२६ खुशीसाथ सन्दिपसँग होटल पुगेको,उनी आफैँले रिसेप्सनबाट हाँसीखुशी कोठाको चाबी लिएर गएको र भोलिपल्ट पनि आफैँले चाबी बुझाएको जस्ता कुराले बलात्कार भएको भन्न नमिल्ने निश्कर्षमा इजलास पुगेको देखिन्छ । 

यी दुई आधारलाई जिल्ला अदालतको फैसलाले पनि पुष्टि गरेको छ । किनभने सन्दिपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजायँ सुनाउँदा न्यायाधीश शिशिरराज ढकालले गौशाला-२६ नाबालिग प्रमाणित नभएको निष्कर्ष दिएका थिए । 

सन्दिपले आफ्नो व्यक्तित्वको प्रभावमा पारेर जाहेरकर्ताको कमजोरीमाथि फाइदा उठाएको जिल्ला अदालतको ठहर थियो । सामान्य हिसाबले हेर्दा पनि त्यस्तो देखिन्छ ।    

यद्यपि,अदालतले नै निर्दोष ठहर्याई सकेकाले थप टिप्पणी गर्नु उचित नहोला । क्यानले निलम्बन फुकुवा गरिसकेको हुँदा अब सन्दिप लामिछाने पुन: क्रिकेटमा फर्किएर विश्वकप पनि खेल्न पाउनेछ्न् । त्यसमा कोही पूर्वाग्रही हुनुपर्ने कारण पनि छैन । तर,प्रश्न उठ्छ- भोलिपल्ट क्रिकेट खेल्न विदेश जाने तयारीमा रहेको एउटा खेलाडी अघिल्लो रात युवती लिएर नगरकोट घुम्न जाने र होटलमा रात बिताउने कुरा अनुशासन उल्लङ्घन हो कि होइन ? 

अर्कोतिर, इजलासमा सुनुवाई चलिरहँदा अदालत बाहिर प्रतिवादीको पक्षमा नाराजुलुस हुनु र फैसलालगत्तै बाजागाजासहित स्वागत गरिनुले अदालतलाई प्रभावमा पार्ने प्रवृत्तिले बढावा पाउने त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ । शक्तिशाली व्यक्तिका अगाडि कानुन कमजोर हुन्छ भन्ने गलत सन्देश पनि गएको छ ।

सन्दिप निर्दोष सावित भएकोमा खुशी मनाइरहँदा भविष्यमा वास्तविक पीडितहरु मनोवैज्ञानिक दबाबमा परेर प्रहरीसम्मै पुग्न नसक्ने अवस्था आउनसक्ने तर्फ पनि 
सचेत हुनु पर्ला नि !

टिप्पणीहरू