कोशीमा नियुक्तिलगत्तै शपथ र मन्त्रीमण्डल गठन, सर्वोच्चमा हालिएको रिटको पेसी भोलि

कोशीमा नियुक्तिलगत्तै शपथ र मन्त्रीमण्डल गठन, सर्वोच्चमा हालिएको रिटको पेसी भोलि

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सपथ ग्रहण गरेका हुन् ।

९३ सदस्ययी प्रदेशसभामा कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत छ । मुख्यमन्त्री कार्कीले सानो आकारमा मन्त्रिमण्डल समेत विस्तार गरेका छन् । 

उनले एमालेबाट राम राणा मगर र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका हुन् । मगर इलामबाट निर्वाचित सांसद हुन् भने उप्रेती मोरङबाट निर्वाचित । दुवै जनाले विनाविभागीय मन्त्रीको सपथ समेत लिइसकेका छन् । 

उता निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने आफ्नो पदलाई नै निरन्तर कायम गराउन आदेश हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई अपदस्थ गरी नयाँ सरकार गठन गर्नु असंवैधानिक रहेको उनको दावी छ । उनको रिटमा सुनुवाइको लागि भोलि पेसी तोकिएको छ ।
 

टिप्पणीहरू