सचिव फेरिएपछि स्वार्थका अनेक बान्की

सचिव फेरिएपछि स्वार्थका अनेक बान्की
सुन्नुहोस्

गत चैत २२ गते मन्त्रालयमा पद बहाली गरेपछि नेपाल सरकारका एकजना सचिव आफ्नै कर्मचारीहरुसँग असन्तुष्ट रहेको बताइन्छ । पद बहाली गर्दा विशिष्ट श्रेणीको कर्मचारीलाई सोही ‘लेभल’ को स्वागत नभएकोमा सचिवले चित्त दुःखाएको भन्ने चुरो कर्मचारीहरुले एक महिनापछि भन्न थालेका हुन् । 

सचिव मधुसुदन बुर्लाकोटीको पदस्थापनपछि उत्पन्न असहज परिस्थितिबारे जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका झण्डै आधा दर्जन कर्मचारीले सरुवा मागेर बाटो तताइसकेको बताइन्छ । यसबीचमा मन्त्रालयबाट मागेर सरुवा भएकामध्ये उपसचिवद्वय कृष्ण थापा, वैकुण्ठ अर्याललगायत शेरबहादुर विक, विक्रम पाण्डे एवम् गैरे र घिमिरे थरका कर्मचारी हुन् । 

बहालीको भोलिपल्ट मन्त्रालयको पूर्वनिर्धारित प्रशिक्षण कार्यक्रममा सहभागी केही कर्मचारीलाई सचिवले र्याख्र्याख्ती पारेपछि आफूहरु भरङ्ग भएको तीमध्ये केहीले बताए । केही कर्मचारीले उपभोग गर्दै आएको सवारी साधन र चालकको सुविधामा अंकुश लगाइएको छ । अनुगमनका क्रममा ठूला अस्पतालका चिकित्सकहरुलाई कडा निर्देशन दिइएका कारण पनि उनीहरु रुष्ट भएको सचिव निकटस्थहरुको बुझाई छ । 

सचिव बुर्लाकोटीले अनुगमनको क्रममा अस्पतालका चिकित्सक र कर्मचारीलाई अनुशासनबारे बेलिबिस्तार लगाउँदै अन्यथा कारबाहीको चेतावनी दिएका हुन् । उपराष्ट्रपति निकट राजनीतिक समूहको सिफारिसमा उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालयमा सरुवा गराइएको उनीमाथि आरोप छ । 

तर जनआस्थासँगको कुराकानीमा उनले आफूमाथि लागेका सबै आरोपको एकमुष्ठ खण्डन गर्दै भने, ‘मिडियामा जथाभावी भन्दै हिँड्नेलाई सबैले चिनेको छ ।’ विदेशी पर्वतारोहीको साथमा सम्पर्क अधिकृतको रुपमा हिमालतिर जान लागेका एक जना कर्मचारीप्रति संकेत गर्दै सचिव निकट अधिकृत भन्छन्, ‘ती कर्मचारी अहिले पनि काठमाडौँमा घुमेको देखिन्छ । आवश्यक परेमा उनलाई कानुनबमोजिम ठीक ठाउँमा ल्याइन्छ ।’

यसबीचमा वीर अस्पताल, ट्रमा सेन्टरका प्रमुख तथा ११औँ तहका डाक्टर बद्री रिजाललाई त्यहाँबाट हटाएर, उक्त ठाउँमा १०औँ तहका अर्का डाक्टर प्रमोद कुमार यादवलाई राखिएको छ । सो सम्बन्धमा पनि मन्त्रालयमा आलोचनाको स्वर सुनिएको हो । 

टिप्पणीहरू