चुनावमा जाने निर्णय गरेका विप्लवले जनप्रदर्शन गर्ने

चुनावमा जाने निर्णय गरेका विप्लवले जनप्रदर्शन गर्ने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनप्रदर्शन गर्ने भएको छ । 

बैशाख ५ देखि ९ गतेसम्म बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीले विश्व शान्तिका लागि समाजवाद भन्ने संदेश दिन आगामी जेठ ७ गते जनप्रदर्शन गर्न लागेको जानकारी गराएको हो । 'विश्वमा देखा परेका विध्वंशात्मक विश्व परिस्थितिमा विश्व शान्तिका लागि समाजवाद भन्ने संदेश दिन काठमाडौँमा जेठ ७ गते जनप्रदर्शन गर्ने निर्णय लिइएको छ', निर्णयमा भनिएको छ ।

सोही बैठकले निर्वाचनमा भाग लिने नीतिसमेत पारित गरेको छ । दलाल पुँजीवादी सत्ता र संससदीय व्यवस्थालाई नेपाली विशेषताको समाजवादमा परिवर्तन गर्न सम्भव सबै तरिका र माध्यमहरुको प्रयोग गर्ने नीति लिएको सो पार्टीले २०८४ को चुनावलाई समाजवादी मिशनमा बदलेर प्रयोग गर्ने निर्णय गरेको हो । 

विप्लवले चार वटा विधिलाई एकीकृत गरि समाजवाद निर्माणमा जोड दिने जनाएका छन् । वैठकको निर्णयअनुसार संविधानमा आमूल परिवर्तन, जनमत संग्रह, जनता र पार्टीहरुका तागतलाई एकीकृत गर्दै संघर्ष अघि बढाउने र त्यसको बलमा मुलुकलाई समाजवादमा परिवर्तन गर्न सम्भव हुने भनिएको छ । 

नेकपाले समाजवाद प्राप्तिका लागि माओवादी धाराका बिचमा एकता तथा अन्य कम्युनिष्ट पार्टीहरुसँग मोर्चाबन्दी गरेर जाने नीति लिएको छ । माओवादी पार्टीहरुबीच राजनीतिक कार्यदिशा, संगठन, संघर्ष र सांस्कृतिक विषयमा छलफल गरेर उपयुक्त समयमा एकता गर्ने बैठकको निर्णय छ ।

टिप्पणीहरू