रविको पद खुस्काउन फेरि कस्सिए युवराज

रविको पद खुस्काउन फेरि कस्सिए युवराज
सुन्नुहोस्

रवि लामिछानेविरुद्ध एकपछि अर्को मुद्दा हाल्दै आएका युवराज सफलले आज सर्वोच्च अदालतमा अर्को रिट दर्ता गराएका छन् । लामिछाने गृहमन्त्री पदका लागि कानुनी तथा नैतिक रुपले योग्य नरहेको जिकिरसहित बर्खास्तीको माग गर्दै उनी आज सर्वोच्च पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको, राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको, सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा खेपिरहेको, झुठो तथा किर्ते विवरण पेश गरी कम्पनीको सेयर किनेको र कम्पनी खरिद–बिक्री प्रकरणमा अनुसन्धान भइरहेको व्यक्ति पदमा बस्न नमिल्ने युवराजको दाबी छ । 

निवेदनमा भनिएको छ, ‘निज रवि लामिछानेमाथि चलेका मुद्दाहरुको अनुसन्धान नसकिन्जेल तथा मुद्दाहरुको किनारा नलागिन्जेल निजलाई उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी दिन नमिल्ने भएकाले विपक्षीहरुको नाममा परमादेश जारी गरी निजलाई पदमुक्त गराई पाउँ ।’ 

रिट निवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका आइजिपी वसन्त कुवँरलाई विपक्षी बनाइएको छ । उनीहरुले लामिछानेलाई निर्दोष देखाउन खुलेआम बचाउ गरेको युवराजले आरोप लगाएका छन् । 

‘....ले खुलेआम रवि लामिछानेको बचाउ गरी उल्लेखित कसुरको कसुरदारलाई कानुनी कारवाही गर्नबाट रोक्न आरोपितलाई जोगाउन प्रमुख मतियारको भूमिका खेलेको हुँदा उल्लेखित व्यक्तिहरुलाई कानुनबमोजिम हदैसम्मको कारबाही गराई पाउँ’, निवदेनमा थप माग गरिएको छ ।   

आफूलाई चित्त नबुझेको विषयमा उजुर गर्न अड्डा अदालत धाइरहने युवराजले यसअघि नागरिकता किर्तेमा सर्वोच्चमै रिट हालेर रवि लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका थिए ।


 

टिप्पणीहरू