एमालेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेकोमा काँग्रेस सभापति रुष्ट

एमालेले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेकोमा काँग्रेस सभापति रुष्ट

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको कार्यक्रममा सोही प्रार्टीको नेतृत्वप्रति आक्रोश पोख्नुभएको छ। 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा गोदावरीस्थित सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले मदन भण्डारीको हत्यारा पत्ता नलागेको र नलगाइएकोमा एमालेप्रति आक्रोश पोख्नुभएको हो ।

एमालेले नेपाली काँग्रेसलाई गाली मात्र गर्न जानेको उल्लेख गर्दै भन्नुभयो, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले काँग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो ।’ आफूलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? प्रश्न गर्दै उहाँले रहस्यमय ढंगले मारिएकाले हत्यारा खोजीमा कसैले चासो नदेखाएको उल्लेख गर्नुभयो । ‘काँग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने काँग्रेसलाई गाली गरेर हिँड्ने ?,’ एमालेलाई प्रश्न गर्नुभयो ।

सभापति देउवाले बाम्बार सत्ताको नेतृत्व गर्दा पनि एमालेले मदन भण्डारी हत्या काण्डको सत्यतथ्य छानबिनमा कुनै चासो नदेखाएको आरोप लगाउनुभयो । काँग्रेसको विरोध गर्न बन्द गर्न सुझाव दिँदै उहाँले थप्नुभयो, ‘हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । काँग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’

सोही कार्यक्रममा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ पदकबाट सम्मान गरेको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा.बाबुराम भट्टराईले संयुक्त रुपमा भण्डारीलाई सम्मान गर्नुभएको हो ।

मुलुकको लोकतन्त्र, गणतन्त्र र राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गर्ने सबालमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरिएको जनाएको छ । उहाँ नेपालको पहिलो महिला राष्ट्रपति समेत हुनुहुन्छ । राष्ट्रपतिको जिम्मेवारी अघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो । 

आजको समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने अनुपस्थित हुनुभएको थियो ।

टिप्पणीहरू