इलाम छाडी गोदावरीमा एमालेजनको ओइरो,उता घण्टीको पहिरो

इलाम छाडी गोदावरीमा एमालेजनको ओइरो,उता घण्टीको पहिरो

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु भएको छ । गोदावरीको सनराइज हलमा आयोजित बैठकमा केन्द्रीय सदस्यसहित २४ सय ५४ जना प्रतिनिधि सहभागी छन् ।

आज र भोलि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । सोही हलमा एमालेले पर्सि नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हिरक महोत्सव मनाउँदै छ ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिको रुपमा सहभागी हुनुहुने छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनको ७५ वर्षको विभिन्न आरोहअवरोह समावेश गरिएको भिडियो डकुमेण्ट्री प्रस्तुत गरिने जानकारी गराइएको छ । 

उता, इलामको निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु प्रचार र घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एमालेले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी पूर्व सभामुख तथा उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

उनको प्रतिस्पर्धामा काँग्रेसले डम्बर खड्का र रास्वपाले मिलन लिम्बूलाई उठाएको छ । रास्वपाका छोटे बडे सबै नेता इलाममा धुइरिँदा एमाले नेताहरु भने उपनिर्वाचनको सबै चटारो छाडेर गोदावरीमा भेला भएकोमा पार्टीभित्रै आश्चर्य व्यक्त गरिएको छ ।

टिप्पणीहरू