जलेको अवस्थामा आमाछोरीको शव फेला
धनुषामा एक महिला र शिशुको शव फेला परेको छ ।
जनकपुरधाम उपमहानगरपालिका-१६ मा रहेको कपिलेश्वर मन्दिर नजिकै २३ वर्षीया प्रियंका महतो र उनकी ८ महिने छोरीको शव जलेको अवस्थामा भेटिएको हो ।
युवती र शिशु जलिरहेको देखेपछि स्थानीयले हिजो राती ९ बजे प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुग्दा महिला पूर्णरुपमा जलिसकेको र शिशु श्वास फेरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनले जनआस्थासँग भने, 'हामी पुग्दा महिलाको कपडा र शरीर सबै जलिसकेको थियो । बच्चाले चाहिं श्वास फेरिरहेको थियो ।'
शिशुको उपचारको लागि तत्काल प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए । दुबै शव प्रादेशिक अस्पतालमै राखिएको छ ।
घटनास्थलको अनुसन्धान भइरहेको र परिवारका सदस्य आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।
टिप्पणीहरू