विनोद चौधरीको तारन्तार विदेश यात्रा, आज फेरि कोलम्बो

विनोद चौधरीको तारन्तार विदेश यात्रा, आज फेरि कोलम्बो

विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरी आज फेरि विदेश उडेका छन् । उनी श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८२ मा दिउँसो २ बजे कोलम्बो गएका हुन् ।

फिलिपिन्सको मनिलबाट बैंकक हुँदै उनी चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए । 

त्यसअघि चैत ८ गते श्रीलंकाको राजधानी कोलम्बो नै उडेका थिए । बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि सोही दिन दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि श्रीमती सारिका चौधरीलाई उतै बोलाएका थिए । सारिका मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला गएकी थिइन् ।

काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग चैत ८ गते बिहान बयान लिएको थियो । त्यसअघि माघ १८ गते कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि उनी सोही दिन नयाँ दिल्लीतिर हान्निएका थिए ।

टिप्पणीहरू