नेपाली नागरिकता : सक्षमहरु त्याग्दै, निमुखा वञ्चित

नेपाली नागरिकता : सक्षमहरु त्याग्दै, निमुखा वञ्चित

नागरिकता राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने महत्वपूर्ण दस्तावेज हो । यसलाई राष्ट्र र व्यक्तिबीच सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार र पहिचानको रुपमा लिइन्छ । 

यो राज्य र नागरिक बीचको सम्बन्धमा कानुनी सेतुको पनि हो । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो । 

नागरिकता प्राप्त गरेका व्यक्ति कानुनतः सम्बन्धित देशको नागरिक हुन्छ । र, उसको रक्षा वा अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हुन्छ । आफ्ना देशका नागरिक वा नागरिकता प्राप्त गरेका व्यक्तिलाई राज्यले विभिन्न सेवासुविधा प्रदान गर्छ । उनीहरुको सुरक्षा र धनसम्पत्तिको राज्यले नै जिम्मा लिन्छ । 

नागरिकता लिएपछि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट उपलब्ध हुने सम्पूर्ण सेवासुविधामा नागरिकको सामान पहुँच हुन्छ । तर, कतिपय नेपाली अझै पनि नागरिक नागरिकता प्राप्तिबाट वञ्चित छन् । नेपाली हुँदाहुँदै नागरिकताबाट वञ्चित हुँदा उनीहरुले विभिन्न समस्या झेल्नुपरेको छ । 

शिक्षा, स्वास्थ्य, रोजगारीसहित राज्यबाट उपलब्ध हुने हरेक सेवासुविधाबाट उनीहरु वञ्चित छन् । नागरिकताको निम्ति कतिपयले निकै ठूलो संघर्ष गर्नुपरेको छ । 

नागरिकताको निम्ति कोही दिनरात संघर्ष गरिरहँदा कोही भने सजिलैसँग त्यागिरहेका छन् । केही समययता नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्दो छ । यसलाई गृह मन्त्रालयको तथ्याङ्कले समेत पुष्टि गर्छ । विगत १० वर्षमा झण्डै १५ सय नेपालीले नेपालको नागरिकता त्यागेका छन् । 

वि.सं. २०७५ देखि ०८० सम्म एक हजार चार सय ६० जनाले नेपाली नागरिकता त्यागेको देखिन्छ । त्यस्तै, नागरिकता त्याग्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनेको संख्या पनि बढ्दो क्रममा छ । 

आफु र आफ्नो परिवार जन्मेको, हुर्केको र नागरिकको हैसियत पाएको मुलुकको नागरिकता त्यागेर नेपालीहरु धमाधम विदेशी नागरिकता लिइरहेका छन् । यस्तो किन ? अहिले यो प्रश्न गम्भीर बन्दै गएको छ ।

मोरङमा नागरिकता त्याग्ने बढ्दो 

पछिल्लो समय धेरैले नागरिकता परित्याग गर्नेमा मोरङ पनि एक जिल्ला बनेको छ । केही वर्षयता जिल्लामा नागरिकता परित्याग गर्नेको संख्या बढ्दो छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५८ जनाले नेपाली नागरिकता परित्याग गरेको स्थानीय प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईका अनुसार स्थायी रुपमा बसोबास गर्न विदेश जानेहरु बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको हो । विशेष गरी युरोपेली मुलुकमा पुगेकाहरुले त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको छ । 

एनआरएनएको लिने, नेपाली त्याग्ने

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई गैरआवासीय नेपाली नागरिकले पनि छुट्टै नागरिकता पाउने भएपछि नेपाली नागरिकता परित्याग गर्ने बढिरहेको बताउँछन् । 

उनले भने, ‘पहिला विदेशीसँग विवाह गर्ने वा उतै बस्नेले मात्र नेपाली नागरिकता परित्याग गर्थे । तर, अहिले गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता लिन पाउने भएपछि केही महिनायता यो हवात्तै बढेको छ ।’

अर्कोतर्फ वैदेशिक रोजगारी वा अध्ययन÷अध्यापनको निम्ति विदेशिनेको संख्या बढेसँगै नागरिकता त्याग्ने पनि बढेको हो । अध्ययनका लागि विकसित मुलुक विदेशिने र त्यहाँ बस्ने मोहका कारण नेपाली नागरिकता परित्याग गर्नेहरु बढिरहेका छन् । 

त्यस्तै, लामो समयदेखि वैदेशिक रोजगारका साथै डीभी, पिआर, ग्रिनकार्ड लिएर विदेश बसेका वा विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरुले पनि नागरिकता त्याग्ने गरेका छन् । 

के हो गैरआवासीय नेपाली नागरिकता ? 

विदेशको नागरिकता लिएको तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिका नातिनातिनासम्मले नेपाली नागरिकता पाउनुलाई गैरआवासीय नेपाली नागरिक भनिन्छ । 

नेपाल नागरिकता ऐन, २०६३ मा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान छ । जसअनुसार विदेशमा रहेका कुनै पनि नेपालीले बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए गैरआवासीय नागरिकता प्राप्त गर्न सक्ने छ ।  

ऐनमा उल्लेख छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वशंजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

सक्षमले त्यागे, असक्षम वञ्चित 

त्रिभुवन विश्वविद्यालयमा नागरिकतासम्बन्धी विषयमा विद्यावारिधि (पिएचडी) गरिरहेका शान्तिकुमार तिमल्सिना सक्षम, सम्पन्न व्यक्तिहरुले नेपाली नागरिकता परित्याग गर्ने क्रम बढिरहेको बताउँछन् । 

उनी भन्छन्, ‘आर्थिक रुपमा सम्पन्न र समक्ष व्यक्तिहरुले नागरिकता त्यागिरहेका छन् । आफ्नो जन्मथलोमा शैक्षिक, आर्थिक अवसर नहुँदा पनि त्यसको खोजीमा विकसित मुलुक विदेशिएकाहरु त्यहाँ भविष्य बनाएपछि नेपाली नागरिकता त्याग्छन् ।’

एकातिर देशको लागि आवश्यक शिक्षित, सक्षम एवम् दक्ष नागरिकले नागरिकता त्यागिरहँदा अर्कातिर असक्षम, विपन्न नेपाली नागरिकहरु नागरिकताबाट वञ्चित हुनुपरिरहेको उनी सुनाउँछन् । 

‘उचित कानूनको व्यवस्था हुन नसक्दा अहिले पनि अधिंकाश नेपाली नागरिकहरु नागरिकता प्राप्तिबाट वञ्चित छन्,’ उनले भने, ‘नागरिकता नभएकै कारण उनीहरु शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरिरहेको छ । अर्कातर्फ देशको लागि आवश्यक नागरिकहरु भने नागरिकता त्यागिरहेका छन् ।’

यसले समाज र राष्ट्रमा पर्ने प्रभाव निकै जटिल हुने उल्लेख गर्दै उनले थपे, ‘यसबारे सम्बन्धित निकायले समयमै सोच्न आवश्यक छ ।’

टिप्पणीहरू