कुरा मिल्दासम्म हो कमरेडहरु

कुरा मिल्दासम्म हो कमरेडहरु
सुन्नुहोस्

अहिलेको सरकार वाम गठबन्धन या समीकरणमध्ये जेसुकै होस्, यसले कुरा मिल्दाका दिनसम्म चलाउने, नमिल्दा आ–आफ्नो बाटो लाग्ने संकेत दिइरहेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पोखरामा अहिलेको सरकार गठबन्धनको नभई समीकरणको भन्नुभयो । त्यही दिन प्रधानमन्त्री प्रचण्डले चाहिँ ‘यो गठबन्धन नै हो, एकता गरेरै जाने हो’ भन्नुभयो । तर, भित्रका कुरा ओलीले भन्नुभएजस्तो छ । प्रचण्डलाई कांग्रेससँगको सहयात्राबाट नयाँ सहयात्री चाहिने स्थितिमा एमालेसहितको सरकार बनेको हो ।

त्यसमा संख्याको दुःख हुँदा माधव नेपाल पक्षलाई बढी नै महत्व दिनुपर्ने स्थिति आयो । माधव नेपालको पार्टीले समर्थन फिर्ता लियो भने सरकार ढल्नेतिर जान्छ । त्यसैले ‘भाऊ’ दिनुपरेको हो । तर, यही लयमा एकता गरेर जाने गुञ्जायस देखिँदैन । आफूबाट विभाजित भएको एकीकृत समाजवादीलाई मिलाउन एमाले तयार भएको छैन । सरकार गठनमा भएको सहकार्यलाई एकतासम्म लैजान सकिन्छ कि भनेर दुबै पार्टीको दोस्रो तहका नेताहरूले भित्रभित्र प्रयास पनि गरेका हुन् ।

तर, स्वयं केपी ओली अहिले पार्टीभित्र माधव नेपालहरूलाई भित्र्याएर भागबण्डाको राजनीति चलाउन मञ्जुर हुनुहुन्न । शुरुशुरुमा त ‘मिलेर जानुपर्छ’ भन्नुभयो । तर, मिल्दा के–के गर्नुपर्छ भन्ने कुरा सोच्दै जाँदा नमिल्नु उचित हुने निश्कर्षमा पुग्नुभएको बालकोटनिकटस्थ विष्णु, राजन, भानुभक्तहरू बताउँछन् । त्यसैले उहाँले अघिल्लो साता पोखरामै भन्नुभयो, ‘म माधव–झलनाथहरूजस्तो मलाई केही भएन, मेरो भाग खोई भनेर बस्ने मान्छे होइन !’ उहाँ निकट एक नेताका अनुसार, त्यो कुनै सन्दर्भमा फुत्त निस्किएको बोलिमात्र थिएन, एकता गर्दिनँ भन्ने स्पष्ट संकेत हो ।

वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनका सन्दर्भमा पनि एकीकृत समाजवादीलाई वास्ता गरिएन भन्ने राजेन्द्र पाण्डेको गुनासो सुनिन्छ । जबकि, इलामका हकमा एमाले उम्मेदवार सुहाङ नेम्वाङका पक्षमा माओवादी र विप्लवसमेतको समर्थनमा विज्ञप्ति जारी भयो । एकीकृत समाजवादीलाई सोध्नेखोज्ने काम भएन । फलतः दुबैतिर उक्त पार्टीका उम्मेदवार छन् । विगतको मत संख्याका आधारमा खासै फरक नपर्ने एमालेको बुझाई छ । तर, चुनाव हार्नलाई धेरै मतको अन्तर चाहिने होइन ।

आफैंबाट फुटेको पार्टीले हजार मत नै काटिदियो र त्यही हाराहारीको मतभित्र जितहार हुने भयो भने दुुर्भाग्यपूर्ण हुन्छ । त्यसमाथि इलाम एमालेभित्रै पार्टीको उम्मेदवारलाई सहयोगको कमी छ । 

प्रचण्डको स्वभावै हो कि, जे कुरा बोल्ने हो, त्यो उत्कर्षमा पुग्ने र फेरि सामान्यमा आउने । तर, माधव र ओलीका कुरा उत्कर्षमा पुग्छन् । फेरि अलिअलि झर्न थाल्छन् । अहिले त्यही भइरहेको छ । ओलीमा ६० प्रतिशत सुधार आइसक्यो भन्ने माधव नेपाल अहिले त्यसो भन्नुहुन्न । उहाँहरू सत्ताको भाग लिइहालौं भन्नेमा मात्रै देखिनुभएको छ । त्यसैले एमाले र समाजवादीबीच एकता हुने अध्याय तत्कालका निम्ति समाप्त भएको कतिपयको भनाइ छ । 

उता, माओवादी कनिष्ट नेता माधव सापकोटासम्मको ध्येय एमालेसँग एकता गरेरै जानुपर्छ भन्ने छ । त्यो एकतामा एकीकृत समावादीलाई सामेल गर्न थालियो भने एकता अभियान भन्दै बसेका वामदेव गौतमलाई पनि ल्याउनुपर्ने हुन्छ । फेरि एमालेभित्र अघिल्लो एकताकालमा जस्तै तीनखाले गुट बन्ने स्थितिको एकता फलदायी नहुने कारण केही  माओवादी एमालेको ओली र माओवादीको प्रचण्ड खेमाबीचमात्रै एकता भनिरहेका छन् ।

अरुसँग सहकार्यमात्रै गर्ने, एकता एमालेसँग गर्ने नीति हो । तर, सोमबार पोखरामा ओलीले ‘गठबन्धन हैन, समीकरण हो’ भनेपछि माओवादीको उक्त पक्षका नेताहरू झस्किएका छन् । माओवादीको नीति नै हो, एमाले फुटाउने, फुटेर गएकालाई निश्चित समयपछि वास्ता नगर्ने, आफूचाहिँ फेरि एमालेतिरै एकतामा फर्किएर शक्ति सञ्चित गर्ने ! पछिल्ला घटनाक्रमहरू त्यसरी नै अगाडि बढिरहेका छन् । चाहे कांग्रेससँगको साझेदारी तोड्दा होस् या अहिले चलिरहेको उपचुनावकै सन्दर्भमा, प्रचण्डले एकीकृत समाजवादीलाई महत्व दिन छोड्नुभएको देखिन्छ ।

किनभने, त्यता महत्व दिँदा ओली रिसाउनुहुन्छ । जनमत र सांगठानिक अभ्यासका दृष्टले माओवादी पार्टी रक्षात्मक अवस्थामा पुगेको छ । त्यसैले एमालेसँग एकता नगरी नहुने स्थिति छ । यस्तो स्थितिमा फुटेका एमालेहरू जुट्नु प्रचण्डका निम्ति घातक हुन्छ । किनभने, उहाँ ६०–४० को अनुपातमा एकता गर्ने पक्षमा हुनुहुन्छ । त्यसमा माधव नेपालहरू सामेल भए एमालेले आफ्नो ६० छाड्दैन, माओवादीले ४० लाई २०–२० बनाउनुपर्ने हुनसक्छ । त्यसैले माओवादी नेताहरू पहिला प्रचण्ड र ओली मिलाउन पाए हुन्थ्यो भन्नेमा छन् । 

तर, एमाले नेताहरू विगतको अभ्यासका आधारमा एकता गर्नै हुँदैन भन्नेमा छन् । ‘भागवण्डामा आधारित एकता गरिँदा कुन दिन टुट्ने हो टुंगो हुँदैन’, एक नेताले बताए । एकीकृत समाजवादीका नेताहरू चाहिँ सम्मानजनक नभई एकतामा जानुहुँदैन भन्नेमा छन् । एमालेहरू तत्काल मिल्नुहुँदैन, कार्यगत एकतामात्रै गरौं भन्दैछन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू