खानै नपाएपछि बुट बजारेर के काम ?

खानै नपाएपछि बुट बजारेर के काम ?
सुन्नुहोस्

कमाण्डर भएर बुट बजार्न त मज्जा आउला, तर खानै नपाएपछि बुट बजारेरमात्रै के हुन्छ र ? सशस्त्रका कमाण्डरहरू अहिले यही हालतमा पुगेका छन्।

डोटीका एसपी नीलकमल आचार्यले हाजिर भएको दुई महिनामै एउटा डाक्टरी कागज बनाए र हेडक्वार्टरसँग सरुवा मागे । खासमा उनलाई कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन । सरुवा माग्नुको कारण हो, निर्धारित दरको राशनले त्यहाँ तैनाथ सबै फौजलाई खुवाउन नपुग्नु । कम्तिमा पनि ४० जना कर्मचारीलाई बिदा नछोड्दा ब्यारेक चलाउनै नपुग्ने । तर, विभागबाट १५ प्रतिशतभन्दा बढीलाई बिदा छाडिए सम्बन्धित कमाण्डरमाथि कारवाही हुने ।

त्यसमा पनि सकेसम्म १५ प्रतिशत नपु¥याउनु, १० प्रतिशतसम्म भए ठीकै हुन्छ भनिएको थियो । यसअनुसार दिपायलमा तैनाथ फौजलाई खुवाउन नसकिने, कि त आफ्नो तलबसमेत त्यसैमा हाल्नुपर्ने भयो । यस्तो भएपछि एसपी नीलकमल त्यहाँ बस्न सकेनन्, फिर्ता मागे । उनको सट्टा सुधीर सुवेदी पठाइएका छन् ।

राशनकै पिरले अर्घाखाँचीका डिएसपी विष्णु पोखरेल पनि त्यहाँबाट फिर्ता भएका छन् । उनले पनि स्वास्थ्यमा समस्या देखिएको भनी हेडक्वार्टरमा रिपोर्ट गरेका थिए । तर, समस्याचाहिँ स्वास्थ्यमा नभई राशनमै थियो । डोटीमा कैलालीको भन्दा राशन दर कम छ । जबकि, कैलालीबाट डडेल्धुरा हुँदै दिपायल पुगिन्छ । फौजमा सुगम जिल्लामा भन्दा दुर्गम जिल्लामा महंगी हुने कारण राशन दर बढी तोक्ने गरिन्छ ।

तर, सशस्त्रले पहाडी र दुर्गम जिल्लामा पनि अत्यन्तै कम राशन दर तोकेका कारण समस्या पर्ने गरेको छ । राशनमात्रै हैन, अन्य खर्चमा पनि त्यसरी नै कसिएको छ । डोटीसँगै जोडिएको जिल्ला डडेल्धुरामा गणको वार्षिकोत्सव मनाउन हेडक्वार्टरले जम्मा १० हजार रुपैयाँ छुट्टयाइदियो । त्यति पैसाले एक–एक गिलास चिया पनि खुवाउन नसकिने भएपछि वार्षिकोत्सव नै मनाइएन । आइजिपी राजु अर्यालले संसदीय समितिमा भनेकै थिए, ‘दिनको दुई सयले चार छाक खाएका छौं । एउटा कफीकै सामान्य होटलमा दुई सय लाग्छ ।’ 

अर्कातिर, तस्करी नियन्त्रण गर्न नसकेको आरोपमा हेडक्वार्टर तानिएका धनुषाका एसपी दर्शन गिरी फेरि त्यतै खटाइएका छन् । उनले सम्हालेको बिओपीछेउ ४ वटा मोटरसाइकलबाट भएको तस्करीलाई हेडक्वार्टरको टोलीले नियन्त्रणमा लिएपछि त्यसमा उनको असक्षमता देखाउँदै हेडक्वार्टर तानिएको थियो । तर, सुर्खेती उनले दाहाल थरका चितवने ससुराली खलकको सनातनी पावर भिडाएपछि त्यहीँ पठाइएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू